सिरहा । सिरहाको कर्जन्हामा शुक्रबार विपरीत दिशाबाट आएको टिपरले यात्रुवाहक विद्युतीय गाडीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४, भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र.०१–००१ ज. ०१२४ नम्बरको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको म.प्र.०३–००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभा कुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। टाउको र अनुहारमा गम्भीर चोट लागेकी यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।
दुर्घटनामा गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ। त्यस्तै, गोलबजार–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
ईभी चालक धनगढीमाई–२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार–४ का संगीता मण्डल र फुलकुमारी यादवको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु थिए। आज नुहाएर खाने दिन भएकाले उनीहरू कमला नदीमा स्नान गर्न गएको पारिवारिक स्रोतले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
