नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीति र लोकतन्त्रको सार्थकता जनताको जीवनस्तर सुधार र राष्ट्रको प्रतिष्ठासँग जोडिएको बताएका छन्।
काठमाडौंको खुलामञ्चमा आइतवारबाट सुरु भएको पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधान मुख्य भएको जिकिर गरेका हुन्। महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको स्वीकार गरे।
उनले नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको सपनालाई स्मरण गर्दै देशलाई समुन्नत र नेपाली जनतालाई सुखी बनाउनु नै पार्टीको मुख्य अभीष्ट हुनुपर्नेमा जोड दिए। महामन्त्री घिमिरेले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई साक्षी राख्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर अगाडि बढ्न आग्रह गरे।
उनले भने, ‘राजनीतिको सार्थकता केही महत्वपूर्ण कुरामा निहित हुन्छ। राजनीतिको सार्थकता भनेको जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, राष्ट्रको प्रतिष्ठा र छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध हो। यिनै कुराले राजनीतिलाई सार्थक बनाउँछन्। लोकतन्त्रको सार्थकता भनेको जनताको सहभागिता, जनताको सम्मान र जनताको समुन्नति हो। लोकतन्त्रको सार्थकता सामूहिक भावनामा आधारित राष्ट्रियता हो। अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो।’
‘आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन? आज राजनीति सार्थक भइरहेको छ कि छैन? यस्ता प्रश्नहरू सर्वत्र उठिरहेका छन्। यी प्रश्न हामीमाथि उठिरहेका छन्। हामी सबैमाथि उठिरहेका छन्। यो मञ्चमा उपस्थित हामी सबैमाथि प्रश्न छ। यी प्रश्नको समुचित जवाफ खोज्ने दायित्व पनि हामी सबैको हो। यदि हामीले यी प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभीष्ट पनि पूरा हुन्छ।’
घिमिरेले पार्टीको यो महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिने विश्वास व्यक्त गरे। शहीदहरूको बलिदानी र आन्दोलनका उपलब्धिहरूलाई जोगाउँदै आम नागरिकको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको उनले बताए।
लोकतन्त्रको सार भनेको पंक्तिमा उभिएको अन्तिम नागरिकको जीवन बदल्नु रहेको भन्दै उनले उपस्थित प्रतिनिधिहरूलाई नयाँ संकल्पका साथ अघि बढ्न आह्वान गरे।
