डोटी । जोरायल गाउँपालिका–१, गैरा बजार नजिकै भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १२० मिटर तल खसेको हो।
ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाइरहेका थिए।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा घाइते भएका सबै ९ जनाको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको जनाएको छ।
घाइतेहरूको विवरण
दुर्घटनामा घाइते हुनेहरूमा जोरायल गाउँपालिका–१ का निम्न व्यक्तिहरू रहेका छन्:
-
अमर सिजाली मगर, ३३ वर्ष — चपरचानी
-
डम्बर थापा, ४६ वर्ष — चपरचानी
-
भरत थापा मगर, १८ वर्ष — चपरचानी
-
विवश थापा मगर, १८ वर्ष — चपरचानी
-
जितबहादुर विक, ५२ वर्ष — गोगनपानी
-
रूपलाल विक, ३२ वर्ष — धानाकोट
-
अनिषा विक, ३२ वर्ष — धानाकोट
-
हर्कबहादुर थापा मगर, ३५ वर्ष — सपुरसानी
-
करिश्मा विक, ३ वर्ष — भानाकोट
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
