दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकले अनुमान गरेको छ ।
विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनले यसअघि गरिएको अनुमानभन्दा बढी आर्थिक वृद्धि हुने देखाएको हो । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि दक्षिण एशियाको आर्थिक वृद्धि २०२६ मा ६.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय आन्तरिक माग बढिरहेको, विप्रेषण आप्रवाह र संरचनात्मक सुधारका कारण अर्थतन्त्रमा निकै सुधार आइरहेको विश्व बैंकको ठम्याइँ छ ।
विश्व बैंकले सन् २०२७ मा भने दक्षिण एशियाको आर्थिक वृद्धि केही सुस्त भएर ६.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । दक्षिण एशियाका देशहरूमा मुद्रास्फीति बढ्नुका साथै वित्तीय अवस्था चुनौतीपूर्ण बनिरहेको कारण केही सुस्त हुनसक्ने अनुमान छ ।
त्यस्तै, विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीमा ठूलो गिरावट आए त्यसले वित्तीय क्षेत्रमा समेत दबाब सिर्जना गर्नसक्ने विश्व बैंकको आँकलन छ । विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटले कठिन परिस्थितिका बाबजुद दक्षिण एशियाले आफ्नो आर्थिक लचकता देखाएको बताएका छन् । तर, अहिलेको वृद्धिलाई निरन्तरता दिन र पर्याप्त रोजगारी सिर्जना गर्न नयाँ आर्थिक अवसरमा लगानी बढाउनुपर्ने उनले बताएका छन् ।
उनका अनुसार विश्वव्यापी रूपमा विस्तार भइरहेको एआईसम्बन्धी उत्पादन तथा सेवा सञ्जालबाट लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति तयार पार्नुपर्छ, पूर्वाधारमा लगानी बढाउनुका साथै व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित देशहरूको तुलनामा यो अझै कमजोर अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । भारतका करिब २३ प्रतिशत कम्पनीले एआई प्रयोग गरिरहेको बताएका छन् । अमेरिकामा यस्तो अनुपात ४३ प्रतिशत छ । अझ स्तरीय प्रविधिमा आधारित एआई प्रयोगको अन्तर भने योभन्दा ठूलो छ ।
यद्यपि, एआईको प्रयोगले दक्षिण एशियाली व्यवसायका लागि नयाँ बजार खोज्ने र निर्यातका अवसर विस्तार गर्ने सम्भावना बढाएको छ । विशेषगरी विश्वव्यापी एआई मूल्य शृङ्खलासँग जोडिएका दक्षिण एशियाली आपूर्तिकर्ताले यसबाट लाभ लिनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
एआईलाई केवल प्रविधिको रूपमा मात्र नभई उत्पादकत्व बढाउने र नयाँ रोजगारीका अवसर सिर्जना गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने विश्व बैंकको ठम्याइँ छ ।
विश्व बैंकका अनुसार एआईको प्रयोगबाट सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने सम्भावना पनि दक्षिण एशियामा ठूलो छ । स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले प्रविधिको उपयोगबाट सेवा विस्तार गर्न सकिनेछ । भारतमा किसानलाई एआईमा आधारित मौसम पूर्वानुमान उपलब्ध गराउने र बंगलादेशमा आँखाको रेटिनाको परीक्षणमा एआईको सहयोग लिने अभ्यास उदाहरणीय रहेको विश्व बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । तर प्रविधिको लाभ सबै नागरिकसम्म पुर्याउन स्थानीय आवश्यकता र अवस्थाअनुसार एआई प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ । सामान्य मोबाइल वा आधारभूत उपकरणमा चल्ने र कमजोर इन्टरनेट सुविधामा पनि प्रयोग गर्न सकिने एआई प्रणाली दक्षिण एशियाका लागि बढी उपयोगी हुनसक्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंक समूहकी एसिया क्षेत्रकी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेका अनुसार एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउन सघाउ पुर्याउन सक्छ । निर्यातका अवसर विस्तार गर्न र सार्वजनिक सेवा सुधार गर्नसमेत यो उपयोगी हुने उनले बताएका छन् । तर, त्यसका लागि सरकारले प्रविधिको प्रयोगमा बाधा पुर्याइरहेका आधारभूत समस्या समाधान गर्न आवश्यक रहेको उनले बताएका छन् ।
एआईबाट अधिकतम लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति उत्पादन, डिजिटल तथा भौतिक पूर्वाधार विकास र व्यवसायमैत्री वातावरण निर्माणमा ध्यान दिन जरुरी रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार साना तथा मझौला व्यवसायमा एआईको प्रयोग सहज बनाउन सक्नुपर्छ । स्थानीयस्तरमा प्रविधि विकासलाई प्रोत्साहन गर्न र एआईसम्बन्धी स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था लागू गर्नुपर्छ । तथ्यांकको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै एआईको प्रयोगसम्बन्धी दुविधा घटाउन सके व्यवसाय तथा उद्योगमा यसको उपयोग बढाउन सकिने विश्व बैंकको विश्वास छ ।
#SouthAsia #WorldBank #EconomicGrowth #ArtificialIntelligence #AI #DigitalTransformation #EconomicDevelopment #Jobs #Technology #Exports #NepalNews #DreamNewsNetwork
