काठमाडौं, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गरेका छन्।
आठवटा युद्ध अन्त्य गर्न तथा अन्य विभिन्न द्वन्द्व रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार आफूलाई दिनुपर्ने बताएका छन्। पुरस्कार नदिइएको विषयमा उनले नोबेल समितिको विश्वसनीयतामाथि समेत प्रश्न उठाएका छन्।
ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार पाएको विषयको आलोचना गर्दै आफूले करसम्बन्धी दबाबलाई समेत शान्ति प्रयासका लागि प्रयोग गरेको बताए।
बुधबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना उपलब्धिहरूको चर्चा गरेका थिए। उनले आफूले आठवटा युद्ध अन्त्य गरेको दाबी गर्दै यस्तो उपलब्धि अन्य कुनै अमेरिकी राष्ट्रपतिले हासिल नगरेको बताए।
‘मैले त्यस्तो काम गरेको छु, जुन अरू कसैले गरेको छैन। म आफ्नो प्रशंसा गरिरहेको छैन, केवल तथ्यहरू बताउँदै छु। सायद कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध समाप्त गरेका छैनन्। मैले आठवटा युद्ध समाप्त गरेको छु,’ ट्रम्पले भने।
आफूले आठवटा युद्ध रोक्न भूमिका खेलेको दाबीलाई बेवास्ता गरिए नोबेल समितिकै लागि ठूलो क्षति हुने ट्रम्पले बताए।
नर्वेजियन नोबेल समितिले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा गर्ने कार्यक्रम रहेको छ। ट्रम्पले हरेक वर्षजसो नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्।
