दशैँमा घर फर्किने यात्रुको गोंगबु बसपार्कमा भीड, टिकटमा अझै नगद कारोबारको बाध्यता
बिहान झिसमिसेदेखि नै गोंगबु बसपार्कमा सुदूरपश्चिम र कर्णालीका लामो दूरीका टिकट काट्न सयौँ यात्रु लामबद्ध थिए। भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष खटिए पनि टिकट काउन्टरमा टाँसिएको ‘नो अनलाइन, ओन्ली क्यास’ सूचनाले प्रविधिको युगमा यात्रुलाई पकेटमारी र नगद बोक्ने अतिरिक्त जोखिम थपेको छ।
गोंगबुस्थित नयाँ बसपार्कमा पहिलो दिनको पहिलो दृश्य नै उत्साह र अनिश्चितताको मिश्रण थियो। राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, निजी तथा सरकारी जागिरे र दैनिक ज्यालादारी गर्ने सर्वसाधारण बिहानको चिसो नभनी लाममा उभिएका थिए। रातो इँटाको पर्खालमा टाँसिएको ब्यानरमा विभिन्न स्थानको भाडादर तोकिएको छ। यद्यपि, सूचनाको सबैभन्दा तल लेखिएको एउटा सानो वाक्यांशले यात्रुलाई झस्काउँछ– ‘नगदमा कारोबार गरिदिनुहोला।’
वर्षभरिको परदेशको पसिना र व्यस्तता बिर्सेर गाउँ फर्किने उमंग त छ, तर लाइनमा चार घण्टा उभिँदासम्म आफूले चाहेको दिनको सिट पाइन्छ कि पाइँदैन भन्ने ढुकढुकी प्रत्येक यात्रुको अनुहारमा प्रस्ट देखिन्छ।
बसपार्कको मुख्य टिकटिङ हलमा पस्नेबित्तिकै रातो डिजिटल एलईडी बोर्डले यात्रुको ध्यान खिच्छ। त्यहाँ पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरालगायत दर्जनौँ गन्तव्य निरन्तर स्क्रोल भइरहेका छन्।
स्टिलको मजबुत ब्यारिकेडभित्र यात्रुहरू धैर्यपूर्वक अघि बढिरहेका छन्। हलभित्रको व्यवस्थापनले बाहिरको अस्तव्यस्ततालाई केही हदसम्म कम गरेको छ। काउन्टरका कर्मचारीहरू डेस्कटप मनिटरमा हेर्दै सिट खाली भए–नभएको जानकारी दिइरहेका छन्।
सुदूरपश्चिम जाने यात्रुका लागि हवाई भाडा आकासिएको छ भने कर्णाली करिडोर र सुदूरपश्चिमका राजमार्गहरूको अनिश्चित अवस्थाका कारण भरपर्दो मानिएका एसी र डिलक्स गाडीका धेरै सिट पहिलो दिनमै बुकिङ भइसकेका छन्।
आज नेपालमा साना चिया पसल, तरकारी पसलदेखि सपिङ मलसम्म क्युआर कोडबाट कारोबार हुन्छ। तर राजधानीको मुटुमा रहेको अन्तर्राष्ट्रिय स्तरको भनिएको नयाँ बसपार्कमा एउटा टिकटको तीनदेखि पाँच हजार रुपैयाँ नगदै बुझाउनुपर्ने व्यवस्था किन?
यात्रुहरूले गोजीमा ठूलो रकम बोकेर हिँड्नुपर्दा पकेटमारीको जोखिम बढ्छ। अर्कोतर्फ, नगद कारोबारले राजस्व र लेखा प्रणालीलाई पारदर्शी बनाउने प्रक्रियामा चुनौती थपेको देखिन्छ। यद्यपि, सुरक्षाकर्मीको उपस्थिति रहेकाले सुरक्षाको वातावरण भने बनाइएको छ।
विद्यार्थीहरूका अनुसार कलेज र जागिरबाट फूलपाती (असोज २४) वा महाअष्टमीको अघिल्लो दिन मात्रै बिदा पाइन्छ। त्यसैले ती दुई–तीन दिनका सिट बुकिङ खुलेको केही मिनेटमै सकिने चिन्ता छ।
लाइनमा साथीहरूसँग फोनमा गफिँदै वा पालो कहिले आउला भनी घडी हेर्दै उभिएका यात्रुका अनुहारले देखाउँछन्—नेपालमा चाडपर्व भनेको परिवारसँगको पुनर्मिलनको सुखद् अवसर मात्र होइन, घर पुग्न गरिने एउटा कठिन परीक्षा पनि हो।
ब्यानरमा तीनवटा महत्त्वपूर्ण सर्त स्पष्ट लेखिएका छन्। पहिलो, टिकट लिएपछि गन्तव्य, मिति र समय राम्ररी जाँच्नुपर्ने। दोस्रो, बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टाअघि मात्र काउन्टर २२–२३ मा सम्पर्क गर्नुपर्ने। तेस्रो, सबै यात्रु अनिवार्य रूपमा बसपार्कबाट मात्र चढ्नुपर्ने।
कलङ्की वा कोटेश्वरबाट बाटोमा गाडी कुर्ने पुरानो बानीले ट्राफिक जाम र सिट व्यवस्थापनमा समस्या हुने भएकाले बसपार्कलाई नै प्रस्थान बिन्दु बनाउन खोजिएको यो सकारात्मक प्रयास हो। तर बस नम्बर आधा घण्टाअघि मात्र दिने व्यवस्थाले यात्रुमा अन्तिम क्षणसम्म अन्योल रहने समस्या भने यथावत् छ।
कर्मचारीहरूका अनुसार शुक्रबारदेखि सुरु भएको यो चटारो दशैँसम्म चल्नेछ। सीमित बस र सिट संख्या भएकाले यात्रुको रोजाइअनुसार अगाडिको सिट मिलाउनु र प्रणालीमा दोहोरो बुकिङ हुन नदिनु उनीहरूका लागि चुनौतीपूर्ण कार्य हो।
