संयुक्त राष्ट्रसंघको महासभामा ‘ग्रुप अफ फ्रेण्ड्स अफ ग्लोबल गभर्नेन्स’ले बढ्दो विश्वव्यापी अस्थिरता र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालनाका लागि विश्व समुदायलाई आह्वान गरेको छ । चीनले उक्त समूहको तर्फबाट जारी गरेको संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको राष्ट्रसंघीय बडापत्रको सम्मान र शक्ति राजनीतिभन्दा माथि उठेर सार्वभौमिक समानताको पक्षमा वकालत गरिएको छ ।
संयुक्त राष्ट्रसंघका लागि चीनका उपस्थायी प्रतिनिधि सुन लीले समूहको तर्फबाट वक्तव्य प्रस्तुत गर्दै पछिल्लो आठ दशकयता विश्व व्यवस्था फेरि एकपटक ठूलो उथलपुथल र अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले क्षेत्रीय द्वन्द्व, बढ्दो एकपक्षीयता र शक्ति प्रदर्शनले विश्व शान्ति र सुरक्षामा गम्भीर खतरा निम्त्याएको औँल्याएका छन् ।
वक्तव्यमा अन्तर्राष्ट्रिय कानुनको समान र एकीकृत प्रयोगमा जोड दिँदै कुनै पनि प्रकारका दोहोरो मापदण्ड वा छनोटपूर्ण प्रयोगलाई अस्वीकार गरिएको छ । समूहले विकासोन्मुख राष्ट्रहरूको आर्थिक र सामाजिक विकासमा अवरोध पुग्ने गरी लादिएका एकपक्षीय आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू राष्ट्रसंघीय बडापत्रको मर्मविपरीत भएको उल्लेख गरेको छ ।
विवाद समाधानका लागि राष्ट्रसंघीय बडापत्रको धारा ३३ बमोजिमका शान्तिपूर्ण माध्यमहरू रोज्न सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ । यसका साथै, समूहले नयाँ प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर स्पेस र अन्तरिक्षजस्ता उदीयमान क्षेत्रहरूमा प्रतिस्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिँदै विश्वव्यापी सुशासन कायम गर्नुपर्नेमा जोड दिएको छ ।
अन्त्यमा, सो समूहले संयुक्त राष्ट्रसंघको नेतृत्वमा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई सुदृढ पार्दै न्यायपूर्ण विश्व निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
