सिरहामा अवैध ग्राभेल उत्खनन, ६ टिपर र एउटा जेसिबी नियन्त्रणमा
सिरहा, २३ असोज । सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ।
गोलबजार नगरपालिका–१, बलडाँडा मुसहर बस्तीस्थित सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, सुरक्षा बेस गोलबजारको संयुक्त टोलीले राति करिब ८:३० बजे छापा मार्दा ग्राभेल लोड गरिएका सवारीसाधन फेला पारेको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनमा को १ ख ४१५७, प्र.२–०१–००१ क ०१७०, म.प्र.०२–००१ क ०२८५, मे १ क ६५०, म.प्र.०३–००१ क ३०२८ र म.प्र.०३–००१ क ३२३५ नम्बरका टिपर तथा ज १ क ०७५२ नम्बरको जेसिबी रहेका छन्।
सवारीसाधनलाई हाल सशस्त्र प्रहरी बलको सुरक्षा बेस गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी रमेशबहादुर पालले बताएका छन्। उनका अनुसार घटनास्थलबाट फरार चालकहरूको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।
