सुर्खेत । कर्णाली प्रदेशमा दसैँ, तिहार र छठ पर्वलाई सुरक्षित बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, सडक दुर्घटना, कालोबजारी तथा ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रदेशभर ५ हजार ३१४ जना प्रहरी खटाइएको छ।
प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि लागू गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ छठ पर्व सम्पन्न हुने कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ। योजनामार्फत सहरबजारदेखि दुर्गम ग्रामीण क्षेत्रसम्म सुरक्षा व्यवस्था विस्तार गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र सम्भावित आपराधिक गतिविधि रोक्न विशेष निगरानी बढाइएको छ।
सार्वजनिक स्थल, मेला तथा पर्वमा झैझगडा र हुलदंगा हुन नदिन प्रहरी परिचालन गरिनेछ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने क्षेत्रका साथै भीडभाडयुक्त स्थानमा चोरी, लुटपाट र पाकेटमारी नियन्त्रण गर्न विशेष निगरानी राखिनेछ।
त्यसैगरी, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी तथा ठगी गर्ने गतिविधिमाथि नियन्त्रण कायम गरिने राठौरले बताएका छन्।
सडक दुर्घटना कम गर्ने, यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुल्न नदिने र आवागमन सहज बनाउने कार्यलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ। अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोग रोक्न कडाइ गरिने प्रहरीले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्य, सरकारी कार्यालय र महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षासमेत सुदृढ बनाइनेछ। जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा तथा अनलाइन सट्टेबाजी नियन्त्रणका लागि पनि प्रहरीले विशेष निगरानी गर्नेछ।
प्रदेश प्रहरी कार्यालय र मातहतका निकायबाट १ हजार ४६२ वटा ड्युटीमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको प्रवक्ता राठौरले बताएका छन्। आवश्यक परे रिजर्भ टोलीबाट थप प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
कर्णाली प्रदेशमा कुल ५ हजार ५०७ जना प्रहरी कार्यरत रहेकामा करिब ९६ प्रतिशत जनशक्ति चाडपर्व सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाइएको प्रहरीले जनाएको छ।
सुरक्षा योजनालाई प्रभावकारी बनाउन २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) र १४८ वटा पैदल गस्ती टोली परिचालन गरिएको छ।
यसैगरी, लामो तथा छोटो दूरीका २०४ वटा गस्ती सञ्चालन गरिनेछ भने १७६ स्थानमा प्रहरी पिकेट राखिनेछ। ६७ स्थानमा नियमित, विशेष तथा आकस्मिक सवारी जाँचको व्यवस्था गरिएको छ।
ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँचका लागि ४७ स्थान छनोट गरिएको छ। त्यस्तै, महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ स्थानमा टोली परिचालन गरिनेछ। यात्रु तथा नागरिकलाई सहयोग पुर्याउन ३७ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा समेत सहायता कक्षको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
अतिसंवेदनशील मानिएका २४ स्थानमा माइकिङमार्फत सचेतना फैलाइनेछ। बैंक तथा वित्तीय संस्थाको सुरक्षा र बजार अनुगमनका लागि ३१ स्थानमा व्यवस्था मिलाइएको छ। त्यसबाहेक १० जना विशिष्ट व्यक्तिको सुरक्षा तथा ४९४ वटा अन्य ड्युटीसमेत सञ्चालन गरिनेछ।
प्रवक्ता राठौरका अनुसार सुरक्षा योजना कार्यान्वयनबाट चाडपर्वको समयमा अपराध नियन्त्रण, चोरी तथा लुटपाटका घटनामा कमी र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चाडपर्वका बेला फरार कैदीबन्दी तथा अभियुक्तहरू आफ्नो घर फर्कन सक्ने र त्यसबाट आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई पनि प्रहरीले ध्यान दिएको छ। यस्तो जोखिम रोक्न योजनाबद्ध परिचालन, निगरानी र अनुगमनलाई प्रभावकारी बनाइने राठौरले बताएका छन्।
सुरक्षा व्यवस्थाविपरीत गतिविधि गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने प्रयास भएमा प्रहरीले आवश्यकताअनुसार सन्तुलित बल प्रयोग गर्ने नीति लिएको छ। यसका लागि १ हजार ५३० थान घातक हतियार र २ हजार २७० थानभन्दा बढी गैरघातक साधन (लाठी) तयारी अवस्थामा राखिनेछ।
यसका अतिरिक्त विभिन्न स्थानमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन २३ स्थानमा सीसीटीभीको प्रयोग गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
