२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण संकटमा परेका ३६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ।
नेपाली सेनाले दिएको जानकारीअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट उद्धार कार्य गरिएको हो। जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनाको उद्धार गरिएको छ। यससँगै उद्धार गरिएका व्यक्तिको कुल संख्या ३६ पुगेको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई तीव्र बनाउन नेपाली सेनाले चारवटा हेलिकोप्टर परिचालन गर्नुका साथै स्थलमार्गबाट पनि सुरक्षाकर्मी खटाएको छ।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरेर बेपत्ता तथा जोखिममा परेका व्यक्तिको खोजी र उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
