२५ असोज, काठमाडौं । लामो समयको छलफल र असहमति अन्त्य गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गरेको छ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले अहिले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षका लागि तयार पारिएको बजेट प्रस्तुत गरिरहेका छन्।
यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट पेस गरेको थियो। तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको विवादका कारण उक्त बजेट पारित हुन सकेको थिएन।
त्यसपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको गठबन्धनबाट साउन २९ गते खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। तर, नयाँ सरकार बनेपछि पनि गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यहरूबीच बजेटका विषयमा सहमति कायम हुन नसक्दा प्रदेश लामो समय बजेटविहीन अवस्थामा रहन पुगेको थियो।
चालु आर्थिक वर्ष सुरु भएको करिब तीन महिना पुग्न लाग्दा मात्रै प्रदेश सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गरेको हो।
