काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीलाई दिएको ज्यान मार्ने धम्की, गालीगलौज र पैसा असुल्ने अडियो एआईबाट निर्मित भएको दाबी गरेका छन् ।
सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा खगेन्द्र सुनारको अश्लील अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गर्नुपर्ने भन्दै सरकार र रास्वपालाई चौतर्फी दबाब परेको छ । रास्वपाले घटनाको निरूपण नभएसम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।
रास्वपा अनुशासन आयोगले सुनारलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न पत्र काटेपछि तराईको अज्ञातस्थलबाट भिडियो खिचेर सुनारले सामाजिक सञ्जालमार्फत उक्त अडियो काल्पनिक महिला र एआईबाट निर्मित भएको दाबी गरेका छन् ।
सुनारका भनिएका पाँचवटा अडियोमा म्युट, बीप र सम्पादन नगरी सुन्नै नसकिने खालका ठेट नेपाली गाली तथा ज्यान मार्ने धम्की समावेश छन् । अडियोको वास्तविकता पुष्टि हुन बाँकी रहे पनि सुनारले त्यसलाई एआईबाट निर्मित र नक्कली भएको दाबी गरेका छन् ।
सोमबार रातिसम्म अडियोलाई सुन्नै नसकिने र अश्लील भन्दै टिप्पणी गर्ने रास्वपा सांसद ज्वाला संग्रौलाले अहिले आफ्नो धारणा परिवर्तन गरेकी छन् । तर, रास्वपा महामन्त्री विपिनकुमार आचार्य र सचेतक प्रकाशचन्द्र परियारले भने सुनारलाई माफी दिन नसकिने बताइसकेका छन् ।
