काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा सभापति थापाको विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ। उनले सम्बोधन गर्नुअघि प्रमुख पदाधिकारीहरूसँग छलफल पनि गर्नेछन्।
पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण स्पष्ट पार्ने बुझिएको छ। साथै, हालै सरकारले मिडिया र पत्रकारमाथि गरेको धरपकडबारे पनि उनले पार्टीको धारणा राख्ने भएका छन्।
