काठमाडौं । जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालयको दैनिक कार्यसमय घटाउने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित गर्दै जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको थियो। उक्त व्यवस्था कात्तिक १६ गतेदेखि लागू भई माघ १५ गतेसम्म कायम रहनेछ।
नयाँ समयतालिका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ। तर शैक्षिक संस्थाको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै दैनिक कार्यालय समय एक घण्टा कम हुने भएको छ।
