वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेदेखि आईपीओमा १० प्रतिशत कोटासम्मका उपलब्धि मध्यपूर्वका नेपालीको निरन्तर पैरवीको परिणाम भएको शर्माको भनाइ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा रहेका नेपालीले लामो समयदेखि उठाउँदै आएका मुद्दा नेपालको राष्ट्रिय नीतिमा समेटिन थालेको बताएका छन्। उनले मध्यपूर्व क्षेत्रलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा मात्रै नभई नीतिगत परिवर्तन र एनआरएनए अभियानका उपलब्धिको महत्वपूर्ण आधारका रूपमा चित्रण गरे।
कतारको दोहामा आयोजना हुने एनआरएनएको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीबारे जानकारी दिन शनिबार राति आयोजित पत्रकार सम्मेलनमा शर्माले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने व्यवस्था र सेयर बजारमा आईपीओको १० प्रतिशत हिस्सा सुनिश्चित गर्ने पहल मध्यपूर्वमा रहेका नेपालीको निरन्तर दबाब र पैरवीबाट सम्भव भएका उपलब्धि हुन्। श्रमिकका समस्यालाई संगठित रूपमा उठाएर राज्यको ध्यानाकर्षण गराएकै कारण यस्ता अवसर प्राप्त भएको उनले बताए।
मध्यपूर्वमा रहेका नेपालीले विदेशमा समस्यामा परेका नागरिकको उद्धार तथा ब्लड मनी संकलनजस्ता मानवीय काममा पनि महत्वपूर्ण भूमिका खेलेको शर्माले उल्लेख गरे। डोल्मा शेर्पाको उद्धार अभियानदेखि मृत्युदण्डको सजाय पाएका नेपालीलाई सहयोग गर्ने प्रयाससम्म त्यहाँका नेपाली समुदायले देखाएको एकता र सहयोग प्रशंसनीय रहेको उनको भनाइ थियो।
एनआरएनएको केन्द्रीय कार्यालय भवन निर्माणमा पनि मध्यपूर्वमा रहेका नेपालीको उल्लेख्य आर्थिक योगदान रहेको उनले बताए। कतारबाटै मध्यपूर्व क्षेत्रीय सम्मेलनको सुरुवात भएको स्मरण गर्दै शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनको प्रक्रियामा पुग्नुलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।
त्यसैगरी, १० अर्ब रुपैयाँको लगानी कोषमार्फत विदेशमा रहेका नेपालीको सानो पुँजीलाई एकीकृत गरी नेपालको विकासमा परिचालन गर्ने अभियान अघि बढेको उनले बताए। यस्तो लगानीलाई जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा उपयोग गर्ने सम्भावना रहेको उनको भनाइ थियो।
आगामी डिसेम्बर ११ र १२ तारिखमा कतारको दोहामा आयोजना हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनले सुरक्षित वैदेशिक रोजगारी, आप्रवासन व्यवस्थापन र नेपालमा लगानीका अवसर विस्तार गर्न नयाँ कार्ययोजना तयार गर्ने शर्माले विश्वास व्यक्त गरे।
