रास्वपाको चुनावी उपलब्धिलाई ‘नयाँ क्रान्तिको कडी’ भनेका भट्टराईले अहिले अस्थिरता थेग्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक सफलतालाई नेपाली इतिहासमा नयाँ क्रान्तिको सुरुवातका रूपमा व्याख्या गरेका भट्टराईको पछिल्लो अभिव्यक्ति भने फरक देखिएको छ ।
चार महिनाअघि चितवनमा आयोजित रास्वपाको महाधिवेशनमा सहभागी हुँदै उनले पार्टीको उपलब्धिको प्रशंसा गरेका थिए । तर, अहिले सामाजिक सञ्जालमार्फत देशको समग्र अवस्था चुनौतीपूर्ण बन्दै गएको धारणा सार्वजनिक गरेका छन् ।
भट्टराईले बढ्दो भूराजनीतिक चलखेल, सत्तापक्ष र प्रतिपक्षभित्रको आन्तरिक विवाद, न्यायालय, प्रशासन तथा प्रहरीजस्ता राज्यका निकायमा देखिएको अस्तव्यस्तता र अर्थतन्त्रको कमजोर अवस्थालाई संकटका सङ्केतका रूपमा औँल्याएका छन् ।
त्यसैगरी प्राकृतिक विपद्को बढ्दो भार, युवाको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक समाजमा बढ्दै गएको निराशाले मुलुकलाई थप कठिन अवस्थामा पुर्याउन सक्ने उनको विश्लेषण छ ।
उनले अब कुनै पनि बहानामा देशले थप अस्थिरता र राजनीतिक उथलपुथल धान्न नसक्ने उल्लेख गर्दै सबैलाई आ–आफ्नो जिम्मेवारीप्रति गम्भीर हुन आग्रह गरेका छन् ।
यसअघि रास्वपाको महाधिवेशनमा बोल्दै भट्टराईले पार्टीले चार वर्षको अवधिमा आन्दोलन र संघर्षभन्दा जनताको विश्वास जितेर तथा आधुनिक प्रविधिमार्फत विचार प्रवाह गरेर ऐतिहासिक सफलता हासिल गरेको बताएका थिए ।
उनले उक्त उपलब्धिलाई नेपाली इतिहासको नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्ने धारणा राखेका थिए । आफ्नै पुस्ताका नेताहरूले रास्वपाको सफलतालाई विदेशी शक्तिसँग जोडेर व्याख्या गर्ने गरेको भन्दै उनले त्यस्तो सोचप्रति असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
त्यस्तै, पाँच दिनअघि मात्रै सामाजिक सञ्जालमार्फत भट्टराईले वर्तमान सरकारलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राखेका थिए । तर, पछिल्लो अभिव्यक्तिमा उनले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् ।
