चीनमा गत बिहीबार र शुक्रबार सम्पन्न संस्थाको विस्तारित बैठकले पाण्डेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। उनी नेपाली कांग्रेसबाट नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्षसमेत रहेकी छन्।
पाण्डे सन् २०२३ देखि उक्त संस्थाको कार्यसमिति सदस्यका रूपमा काम गर्दै आएकी थिइन्। यसअघि अध्यक्षमा निर्वाचित फिलिपिन्सको क्विटीनो प्रान्तका गभर्नर दाकिला कार्लोको गत सेप्टेम्बर १५ मा निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो। सोही रिक्त पदमा पाण्डेलाई जिम्मेवारी दिइएको हो।
एसिया प्रशान्त क्षेत्रका ५१ देशका स्थानीय सरकारका हजारौँ प्रतिनिधि तथा सयौँ संस्था आबद्ध रहेको यस संगठनमा नेपालका तर्फबाट गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघ सदस्य छन्। संस्थाको केन्द्रीय कार्यालय इन्डोनेसियाको जाकार्तामा रहेको छ।
अन्तर्राष्ट्रिय स्तरको स्थानीय सरकारसम्बन्धी संस्थाको नेतृत्व गर्ने अवसरले नेपाललाई अन्य मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने पाण्डेको विश्वास छ। साथै, विभिन्न देशका स्थानीय सरकारका अनुभव, ज्ञान र सीप नेपालमा भित्र्याउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
स्थानीय सरकारका अधिकार र भूमिकाका विषयमा अन्तर्राष्ट्रिय स्तरमा पैरवी गर्दै आएको संस्थामार्फत नेपालमा समेत विभिन्न परियोजना विकास तथा विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले जानकारी दिएकी छन्।
