विकट भौगोलिक अवस्था रहेको डोल्पामा भागेका आठै जना कहाँ लुकेर बसेका छन् भन्ने सामान्य जानकारीसमेत प्रहरीले फेला पार्न सकेको छैन। प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भागेका आठ कैदीमध्ये पाँचजना जबर्जस्ती करणी र तीनजना चोरी मुद्दाका हुन्।
उनीहरूमध्ये दुईजना थुनुवा हुन् भने बाँकी कैदी हुन्। तीनजना पुर्पक्षका लागि थुनामा आएका थिए। उनीहरूको मुद्दा जिल्ला अदालतमा चलिरहेको थियो। मन्दिरको दानपेटिका चोरीको आरोपमा पक्राउ परेका कैदीसमेत भागेको एसएसपी राठौरले जानकारी दिए।
‘डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, सोही नगरपालिकाको वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय निशान भन्ने अदेश भण्डारी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना सुरुङ खनेर फरार भएका छन्,’ उनले बताए।
‘अहिले उनीहरूको खोजी कार्यका लागि हिजो आइतबार २९० जना खटिएका छन्,’ उनले बताए।
राठौरले प्रहरीले शंकास्पद रूपमा दुई जनालाई आइतबार नियन्त्रणमा लिएको बताए।
‘शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिने, भेरिफाइ गर्ने र छोड्ने कार्य भइरहेको छ। हिजो मात्रै दुईजनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि अनुसन्धान हुँदैछ,’ उनले बताए।
