इलाममा २५औँ सत्याग्रह थालेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उनलाई इलामबाट काठमाडौं ल्याइएको हो।
इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्थामा थप जटिलता देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो।
इलाम अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको पाइएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्रामसम्म पुगेको थियो।
टाइप–२ मधुमेहका बिरामीसमेत रहेका केसीको पिसाबमा एसिटोनको मात्रा बढेको, रक्तचाप १००/६० रहेको र मुटुको चालमा समेत अनियमितता देखिएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा शरीरका महत्त्वपूर्ण अंगहरूको कार्यक्षमतामा असर पर्न सक्छ। विशेषगरी मस्तिष्क र मुटुको कार्यप्रणाली प्रभावित हुने जोखिम रहन्छ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूले उनलाई तत्काल आवश्यक उपचार लिन आग्रह गरेका थिए। शरीरमा तरल पदार्थ दिइए पनि उनले ग्लुकोज लिन अस्वीकार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो। कैलालीको गेटा अस्पतालमा मेडिकल शिक्षा स्थगन गर्नुपर्नेलगायतका माग गर्दै उनले इलाममा अनशन थालेका थिए।
