महोत्तरी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा सरकार गठनको विषयलाई लिएर विभिन्न राजनीतिक दलबीच छलफल जारी रहेको बताएका छन् ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विषयमा विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दलहरूबीच प्रदेश सरकारलाई स्थायित्व दिने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ । यसबारे चाँडै साझा निष्कर्षमा पुग्ने उनको विश्वास छ ।
प्रचण्डले लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक शक्तिबीच सहकार्य र समन्वय बढाउनु राष्ट्रिय जागरण अभियानको एउटा उद्देश्य रहेको बताए । अभियानले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित बनाउनुका साथै अन्य राजनीतिक दलसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीले बर्दिबासमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष र संयोजक सहभागी हुने पार्टीका मधेस प्रदेश इन्चार्ज राजु खड्काले जानकारी दिएका छन् ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत सहभागी हुने बताइएको छ ।
