काठमाडौँ । नेपाली चलचित्रका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी लामो समयपछि निर्देशनमा फर्किएका छन्। सन् २०१५ मा प्रदर्शनमा आएको सफल चलचित्र ‘ड्रिम्स’ निर्देशन गरेको करिब एक दशकपछि उनी नयाँ चलचित्र ‘बाटुलो जुन’ लिएर दर्शकमाझ आउन लागेका हुन्।
केसीले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैली र प्रस्तुति विकास गर्ने उद्देश्यले आफू निर्देशनबाट केही समय टाढिएको बताएका छन्। आफूले खोजेको नयाँपन आगामी चलचित्र ‘बाटुलो जुन’मा समेटिएको उनको दाबी छ।
चलचित्रको विषयवस्तु र प्रस्तुतिमार्फत फरक प्रयोग गरिएको उल्लेख गर्दै केसीले दर्शकले ट्रेलर हेरेर केही अनुमान लगाए पनि पूर्ण चलचित्र हेरेपछि नयाँ अनुभव प्राप्त गर्ने बताए। उनले चलचित्रको कथावस्तु र प्रस्तुतिले दर्शकलाई आश्चर्यमा पार्ने विश्वास व्यक्त गरेका छन्।
आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने ‘बाटुलो जुन’मा केसीका छोरा अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्।
चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय भुवन केसी अभिनेताका रूपमा पनि सफल कलाकार मानिन्छन्। नेपालमा सिल्भर जुब्ली मनाउन सफल चार चलचित्रमध्ये उनका ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ गरी तीन चलचित्र समावेश छन्। त्यसबाहेक ‘करोडपति’, ‘तृष्णा’ र ‘बादलपारी’ पनि उनका चर्चित चलचित्र हुन्।
निर्माताका रूपमा समेत उनले ‘सपना’, ‘नेपाली बाबु’, ‘म तिमी बिना मरिहाल्छु’ र ‘क्याप्टेन’ जस्ता चलचित्र दर्शकमाझ ल्याइसकेका छन्।
नेपाली चलचित्रमा गाउँले परिवेश र नायकप्रधान कथाको प्रभाव रहेको समयमा केसीले आधुनिक सहरी जीवनमा आधारित चलचित्र ‘करोडपति’ निर्माण गरेका थिए। फरक विषयवस्तु रोजेको भन्दै सुरुवातमा उनको आलोचना पनि भएको थियो। कतिपयले यसलाई आफ्नै खुट्टामा बन्चरो हानेको संज्ञासमेत दिएका थिए।
तर, प्रदर्शनपछि ‘करोडपति’ले बक्स अफिसमा सय दिन पूरा गर्न सफल भयो। चलचित्रले व्यावसायिक सफलता हासिल गर्नुका साथै नेपाली चलचित्र निर्माणमा नयाँ शैलीको सुरुवात गरेको मानिन्छ।
लामो समयपछि निर्देशनमा फर्किएका भुवन केसीका लागि ‘बाटुलो जुन’ महत्त्वपूर्ण चलचित्रका रूपमा हेरिएको छ। अब यस चलचित्रले उनका अघिल्ला सफल कृतिको विरासतलाई कति निरन्तरता दिन सक्छ भन्ने कुरा प्रदर्शनपछि नै स्पष्ट हुनेछ।
