काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहलमा बस्न लागेको विपक्षी दलहरूको बैठकका लागि चारवटा प्रमुख एजेन्डा निर्धारण गरिएको छ । न्यायाधीशमाथि महाभियोगको विषय, संसद् सञ्चालन, संसदीय छानबिन समिति गठन र प्रहरी महानिरीक्षकसँग जोडिएका प्रश्न बैठकका मुख्य विषय बनेका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले बैठकमा प्रस्तुत गरिने चारवटा एजेन्डा सार्वजनिक गरेको हो ।
निर्धारित एजेन्डाअनुसार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा गरेको निर्णय, त्यसपछिको संवैधानिक तथा संसदीय प्रक्रिया र यसबारे विपक्षी दलहरूको धारणा छलफल हुनेछ ।
त्यस्तै, संसद्को बैठक आह्वान गर्नुपर्ने र संसदीय छानबिन समिति गठनको माग अघि बढाउने विषयमा पनि साझा रणनीति बनाइनेछ । प्रहरी महानिरीक्षकसँग सम्बन्धित विभिन्न आशङ्का र प्रश्नबारे विपक्षी दलहरूको एउटै धारणा बनाउने विषयसमेत छलफलको सूचीमा छ ।
यसैगरी प्रेस स्वतन्त्रता तथा न्यायालय र संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता संरक्षण गर्ने विषयलाई पनि बैठकको एजेन्डामा समेटिएको छ ।
बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भए पनि निर्धारित समयभन्दा केही ढिला सुरु भएको छ । छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रतिनिधि कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।
बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन् ।
कांग्रेसले श्रम संस्कृति पार्टीसहित संसद् बाहिर रहेका अन्य राजनीतिक दललाई समेत बैठकमा सहभागी हुन आमन्त्रण गरेको जनाएको छ ।
