काठमाडौं । बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य उमेर समूहका नागरिकको पोषण अवस्था पत्ता लगाउन सरकारले ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गर्ने भएको छ । यस अध्ययनबाट शरीरका लागि आवश्यक विभिन्न भिटामिन तथा खनिज तत्त्वको उपलब्धतासम्बन्धी तथ्याङ्क संकलन गरिनेछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा हुने सर्वेक्षणले राष्ट्रिय र प्रदेशस्तरमा नेपालको पोषण अवस्थाको पछिल्लो विवरण उपलब्ध गराउने अपेक्षा गरिएको छ । सन् २०१६ मा यस्तै प्रकृतिको राष्ट्रिय अध्ययन गरिएको थियो । त्यसको करिब एक दशकपछि हुन लागेको नयाँ सर्वेक्षणले पोषण क्षेत्रमा भएका सुधार, बाँकी रहेका समस्या र आगामी कार्यदिशा पहिचान गर्न मद्दत गर्नेछ ।
अध्ययनका क्रममा भिटामिन ‘ए’, ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेटको अवस्थाबारे परीक्षण गरिनेछ । साथै रक्तअल्पता, सङ्क्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा समग्र पोषण अवस्थाको मूल्याङ्कन पनि गरिनेछ । पोषणसम्बन्धी सरकारी कार्यक्रमको पहुँच र सेवाग्राहीले सेवा उपयोग गरिरहेको अवस्थाबारे समेत जानकारी संकलन गरिनेछ ।
सन् २०२६ अप्रिलदेखि २०२७ मार्चसम्म सञ्चालन हुने सर्वेक्षणले देशका सातै प्रदेश तथा हिमाल, पहाड र तराईका क्षेत्रलाई समेट्नेछ । यसका लागि २८० वटा क्लस्टर छनोट गरी ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ जनालाई अध्ययनमा सहभागी गराउने योजना छ ।
सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेरका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी, ६ देखि ९ वर्षका बालबालिका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समेटिनेछ । गर्भवती महिलाको पोषण अवस्थासमेत अध्ययन गरिनेछ ।
कार्यक्रम सम्पन्न गर्न गुणस्तर नियन्त्रण, तथ्याङ्क संकलन, सुपरिवेक्षण, अन्तर्वार्ता, रक्त नमुना संकलन, प्रयोगशाला परीक्षण र नमुना ढुवानीका लागि २०५ जना जनशक्ति परिचालन गरिनेछ । उनीहरूलाई नोभेम्बर १७ देखि २८ सम्म आवश्यक तालिम दिने तयारी छ ।
यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले विभिन्न उमेर समूहमा सूक्ष्म पोषक तत्त्वको कमी र रक्तअल्पताको अवस्था उजागर गरेको थियो । त्यसपछि सरकारले पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नयाँ अध्ययनबाट प्राप्त नतिजाले विगतका कार्यक्रमले पारेको प्रभाव मापन गर्न र आगामी पोषण नीति तथा योजनाको प्राथमिकता निर्धारण गर्न आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
