काठमाडौं । बिचौलियाको आरोप लागेका इनाम सापकोटासँग जोडिएका दुईवटा तस्बिर सामाजिक सञ्जालमा फैलिएका छन् । ती तस्बिरमा केही राजनीतिक व्यक्तित्व र चलचित्र निर्देशक निश्चल बस्नेतसमेत देखिएपछि विभिन्न टिप्पणी भइरहेका छन् । यसै विषयमा बस्नेतले आफूले तस्बिरमा देखिएका व्यक्तिलाई नचिनेको बताएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउपछि प्रहरीले उनको मोबाइल जाँच गर्ने क्रममा इनाम सापकोटासँग सम्बन्धित सन्देश तथा सम्पर्क भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि इनामको परिचय र राजनीतिक सम्बन्धबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा सुरु भएको छ ।
यसैबीच भाइरल भएका तस्बिरमध्ये एउटामा मन्त्री बिराजभक्त श्रेष्ठ र सस्मित पोखरेलसहित केही व्यक्तिसँग एक युवक देखिएका छन् । उक्त युवक इनाम सापकोटा भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ । अर्को तस्बिरमा सोही युवकसँग निश्चल बस्नेत सेल्फी खिचिरहेको अवस्थामा देखिन्छन् । तस्बिरमा बस्नेतले ती युवकलाई अंकमाल गरेको पनि देखिन्छ ।
यी तस्बिर सार्वजनिक भएपछि इनामको राजनीतिक वृत्तसँगको सम्बन्धबारे प्रश्न उठाउँदै एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले इनामलाई बालेन शाह निकट समूहले सुरुदेखि नै परिचालन गरेको आरोप लगाएका छन् । झापा–५ मा बालेनको प्रचारमा काम गरेको दाबी गर्दै थापाले न्यायाधीशहरूलाई विचाराधीन मुद्दासम्बन्धी सन्देश पठाएको विषयसँग पनि इनामलाई जोडेका छन् ।
त्यस्तै, सामाजिक सञ्जालमा टिप्पणी गर्ने दिलनिशानी मगरले पनि भाइरल तस्बिरलाई आधार बनाएर निर्देशक बस्नेतमाथि प्रश्न उठाएका छन् । मगरले इनामसँग देखिएको तस्बिर र राजनीतिक घटनाक्रमलाई जोड्दै बस्नेतको आलोचना गरेका थिए ।
मगरको टिप्पणीपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन् । तस्बिर खिच्ने क्रममा आफूले ती व्यक्तिलाई नचिनेको उनको दाबी छ ।
बस्नेतले अब कसैले तस्बिर खिच्न आग्रह गर्दा उसको परिचय र भविष्यमा कुनै गलत गतिविधिमा संलग्न हुने सम्भावनाबारे समेत बुझ्नुपर्ने अवस्था आएको व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले आफूलाई नचिनेको व्यक्तिसँगको तस्बिरकै आधारमा सम्बन्ध जोडिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

