काठमाडौं, १६ कात्तिक । खोटाङ, धनुषा र कैलालीका विभिन्न स्थानमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ स्थित नाङग्रे खोला बुद्धदहमा सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनुषाको जनकनन्दिनी गाउँपालिका–१ स्थित इनर्वा बजार नजिक सडकमा ३७ वर्षीय दिलिप राम मृत फेला परेका छन्। भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको नाजिरपुर ग्राम–१२ कानैल निवासी राम आइतबार मृत अवस्थामा भेटिएका हुन्।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित नालामा २८ वर्षीय सुरज यादवको शव फेला परेको छ। झापाको कनकाई नगरपालिका–५ तुल्सीवारी घर भएका यादव पनि आइतबार मृत भेटिएका प्रहरीले जनाएको छ।
तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
