बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६ मिटरभन्दा कम चौडाइका सडकमा बजेट विनियोजन नगर्ने नीति ल्याउने भएको छ ।
नयाँ सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्ड पुगेका सडकको स्तरोन्नतिमा प्रदेशले लगानी गर्ने मुख्यमन्त्री किरण थापामगरले बताएका छन् ।
हेटौँडा । बागमती प्रदेश सरकारले सडक निर्माण तथा स्तरोन्नतिका लागि नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ । मुख्यमन्त्री किरण थापामगरले आगामी आर्थिक वर्षदेखि कम्तीमा ६ मिटर चौडाइ नभएका सडकमा प्रदेश सरकारको बजेट खर्च नगरिने बताएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरले हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले प्रदेश सरकारको लगानीलाई व्यवस्थित र परिणाममुखी बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।
मुख्यमन्त्री थापामगरका अनुसार नयाँ सडक खोल्ने काम स्थानीय तहले गर्नेछन् भने निर्धारित मापदण्ड पूरा भएका सडकको स्तरोन्नति तथा विकासमा प्रदेश सरकारले आर्थिक सहयोग गर्नेछ ।
उनले साना तथा टुक्रे योजनामा बजेट छर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै योजनाको छनोट र कार्यान्वयनमा सुधार आवश्यक रहेको बताए । आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा विधिवत् दर्ता भएका खानेपानी आयोजनालाई मात्रै बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको पनि उनले जानकारी दिए ।
संघीय र प्रदेश सरकारबाट स्वीकृत विकास आयोजना समयमै सम्पन्न गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले काममा अनावश्यक ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
मुख्यमन्त्री थापामगरले हेटौँडालाई स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । त्यसैगरी बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया सुरु गरिने जानकारी दिए ।
विकास आयोजनाको कामको प्रगति, निर्माणको गुणस्तर र कार्यान्वयन अवस्थाबारे नियमित अनुगमन गर्नुपर्नेमा जोड दिँदै उनले जिल्ला समन्वय समितिलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे ।
