कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले बिचौलिया प्रकरणमा निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्ष सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।
छानबिनको उद्देश्य कसैलाई खुसी पार्ने वा प्रतिशोध साँध्ने नभई सत्य पत्ता लगाउनु हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री गुरुराज घिमिरेले बिचौलिया प्रकरणको अनुसन्धानलाई अन्यत्र मोड्न खोजिएको भन्दै सरकारलाई मूल विषयमा केन्द्रित हुन चुनौती दिएका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग आर्थिक लेनदेन भएको आरोप सार्वजनिक भएपछि त्यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले अनावश्यक विषय उठाएर वास्तविक प्रश्नबाट पन्छिन नहुने बताएका हुन् ।
घिमिरेका अनुसार कुनै पनि अनुसन्धानको मुख्य उद्देश्य कसैलाई खुसी पार्नु, कसैमाथि प्रतिशोध लिनु वा पूर्वाग्रह राख्नु होइन । बरु सत्यको पहिचान गर्ने, न्याय सुनिश्चित गर्ने र गल्ती गर्ने पक्षलाई जवाफदेही बनाउने हुनुपर्छ ।
कांग्रेसले विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा आफूलाई उभ्याउँदै आएको उल्लेख गर्दै उनले राज्यको नियमनभित्र रहेका बिचौलियाहरू पनि कानुनभन्दा माथि हुन नसक्ने धारणा राखेका छन् ।
उनले सम्बन्धित निकायलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न र अनुमानका आधारमा नभई प्रमाणका आधारमा निष्कर्ष निकाल्न आग्रह गरेका छन् ।
घिमिरेले अनुसन्धानको नतिजा सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । अनावश्यक बहस र विषयान्तरमा अल्झिनुभन्दा उठेका प्रश्नको तथ्यगत जवाफ दिनुपर्ने उनको सरकारलाई चुनौती छ ।
