सुनसरीमा आयोजित तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले समाजका हरेक क्षेत्रमा राजनीतिकरण र दलीयकरणको प्रभाव बढ्दा अपेक्षाअनुसार सामाजिक विकास हुन नसकेको बताए।
उनले नेपाली समाज क्रमशः दलीय प्रभावमा पर्दै गएको उल्लेख गर्दै सामाजिक विकासका लागि काम गर्ने संस्थाहरूले राजनीतिक प्रभावबाट आफूलाई अलग राख्नुपर्नेमा जोड दिए।
परियारका अनुसार सामाजिक पछौटेपन अन्त्य गर्न क्रियाशील सङ्घसंस्थाहरू निष्पक्ष रूपमा अघि बढ्न सके समाजको विकास र गतिशीलतामा थप योगदान पुग्नेछ।
‘समाज अति दलीयकरणको मारमा परेको छ। सामाजिक पछौटेपनविरुद्ध काम गरिरहेका अगुवा सङ्घसंस्थाले आफूलाई यस्तो प्रभावबाट टाढा राख्न सके समाजको गतिशीलता अझ बढ्नेछ,’ उनले भने।
उनले मुलुकको समग्र हितका लागि सामाजिक संस्थाहरूको स्वतन्त्र भूमिका आवश्यक भइसकेको पनि उल्लेख गरे।
सचेतक परियारले युवाहरूलाई आफ्नो योग्यता र क्षमताअनुसार उद्यमशीलता तथा सिर्जनशीलताका क्षेत्रमा अघि बढ्न आग्रह गरे। युवावर्गलाई सामाजिक विकाससँग जोड्दै उद्यमशीलता र राष्ट्रका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।
