प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको एक सिट जित्दै निर्वाचनको पहिलो सफलता हात पारेको हो। त्यस्तै, जर्जियाबाट डेमोक्रेटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।
यस निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३५ सिटका लागि मतदान भएको थियो। यसका अतिरिक्त विभिन्न राज्यमा गभर्नर तथा स्थानीय तहका पदाधिकारी चयन गर्न पनि निर्वाचन गरिएको थियो। मतदान यही कात्तिक १७ गते सम्पन्न भएको हो।
अमेरिकामा राष्ट्रपति निर्वाचित भएको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ। यसबाट राष्ट्रपति परिवर्तन नहुने भए पनि संसद्का दुवै सदनमा कुन दलको बहुमत कायम हुन्छ भन्ने निर्धारण हुन्छ।
सन् २०२६ को यो निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यावधिमा भएको हो। त्यसैले निर्वाचनको परिणामलाई उनको नेतृत्व र प्रशासनले अहिलेसम्म गरेका कामप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।
अमेरिकामा मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको लोकप्रियता र कार्यसम्पादन मूल्याङ्कन गर्ने महत्त्वपूर्ण राजनीतिक अवसरका रूपमा लिने गरिन्छ। ट्रम्पको दोस्रो कार्यकालका दुई वर्ष पूरा हुन लाग्दा भएको यस निर्वाचनले उनको प्रशासनप्रति मतदाताको धारणा कस्तो छ भन्ने संकेत गर्नेछ।
निर्वाचनको अन्तिम परिणामले आगामी दुई वर्षमा ट्रम्प प्रशासनलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कति सहज वा चुनौतीपूर्ण हुन्छ भन्ने पनि निर्धारण गर्नेछ। विशेषगरी संसद्का दुवै सदनमा दलहरूको शक्ति सन्तुलनले सरकारका आगामी निर्णय र विधेयक पारित गर्ने प्रक्रियामा प्रभाव पार्ने देखिन्छ।
