आकाश बरालसँग मिलेर ‘डेनी डेन्जरस’को पटकथा तयार, कुकुर र मानिसको सम्बन्धमा आधारित कथा
काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत नयाँ चलचित्रमार्फत निर्देशनमा फर्किने भएका छन् । तीन वर्षअघि ‘दिमाग खराब’ निर्देशन गरेका बस्नेतले ‘डेनी डेन्जरस’ नामक चलचित्रको पटकथा तयार पारेसँगै नयाँ फिल्मको काम अघि बढाएका हुन् ।
बस्नेतले आकाश बरालसँग सहकार्य गर्दै चलचित्रको लेखन पूरा गरेका छन् । निर्माण टोलीले आगामी माघ महिनाको पहिलो सातादेखि छायांकन सुरु गर्ने तयारी गरेको छ ।
चलचित्रको छायांकन कहाँ गर्ने र कलाकारका रूपमा को–को रहने भन्ने विषयमा भने निर्माण पक्षले अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन ।
प्राप्त जानकारीअनुसार ‘डेनी डेन्जरस’को कथावस्तु कुकुर र मानिसबीचको सम्बन्धमा केन्द्रित हुनेछ । पटकथा लेखन पूरा भएपछि निश्चलले सामाजिक सञ्जालमा ‘लेखाई सकियो, हरेक कुकुरको दिन आउँछ’ भन्दै नयाँ परियोजनाबारे संकेत गरेका छन् ।
निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको कम्पनी ब्ल्याकहर्स इन्टरटेनमेन्टले चलचित्र निर्माण गर्नेछ ।
बस्नेतको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘दिमाग खराब’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो । त्यसपछि उनी ‘बेहुली फ्रम मेघौली’मा मुख्य अभिनेताका रूपमा देखिएका थिए । अब ‘डेनी डेन्जरस’मार्फत उनी पुनः निर्देशनको जिम्मेवारीमा फर्कन लागेका हुन् ।
