काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अवस्था कमजोर हुनुमा नेतृत्वलाई मात्र दोष दिने नेताहरूलाई आफ्नो क्षेत्र र वडामा संगठन विस्तार गरेर देखाउन चुनौती दिएका छन्। उनको टिप्पणी पार्टीका पूर्वअध्यक्ष कमल थापाप्रति लक्षित देखिएको छ।
थापाले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा राप्रपा नेतृत्वको कमजोरीका कारण पार्टीले स्थानीय तहमा समेत उम्मेदवार पाउन कठिन हुने अवस्था आएको भन्दै आलोचना गर्दै आएका छन्। त्यसको जवाफ दिँदै लिङ्देनले पार्टी निर्माणमा सबै नेता तथा कार्यकर्ताको समान जिम्मेवारी रहने धारणा राखे।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पार्टी अध्यक्ष भएकाले देशका ७५३ वटै स्थानीय तहमा संगठन बलियो बनाउने दायित्वबाट पछि हट्न नसक्ने बताए। तर नेतृत्वले मात्र पार्टी निर्माण गर्न नसक्ने भन्दै आलोचकहरूलाई आफ्नै ठाउँमा संगठन विस्तार गर्न आग्रह गरे।
‘म पार्टी अध्यक्ष भएकाले देशभर राप्रपालाई बलियो बनाउने जिम्मेवारी मेरो हो। आफ्नो क्षेत्रमा मात्र संगठन बनाएर पार्टी बनाएको दाबी गर्न मिल्दैन। तर मैले केही गरिनँ भन्ने साथीहरूले आफ्नै क्षेत्र र वडामा संगठन निर्माण गरेर देखाउनुपर्छ,’ लिङ्देनले भने।
आफू पछिल्लो निर्वाचनमा विजयी हुन नसके पनि आफ्नो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त मतभन्दा राप्रपाले बढी मत प्राप्त गरेको उनको दाबी छ। प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा राप्रपाको मत अन्य तीन दलको कुल मतभन्दा बढी रहेको उनले बताए।
लिङ्देनले आफ्नो वडामा करिब सात सय, निर्वाचन क्षेत्रमा पाँच हजार र जिल्लाभर झन्डै १० हजार सक्रिय सदस्य रहेको जानकारी दिए।
निर्वाचनमा आफैँ उम्मेदवार नबन्ने तर पार्टी कमजोर भएको भन्दै नेतृत्वमाथि मात्र आरोप लगाउने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘आफू चुनावमा नउठ्ने, उम्मेदवार पनि नबन्ने अनि पार्टी राजेन्द्र लिङ्देनले सक्यो भन्ने प्रवृत्तिले हुँदैन। पार्टी कसले बनाइदिने त ?’ उनले प्रश्न गरे।
लिङ्देनले चाडपर्व सकिएपछि महाधिवेशन सम्पन्न गरी राप्रपालाई नयाँ उत्साहका साथ संगठन विस्तार र पार्टी निर्माणको अभियानमा अघि बढाउने पनि बताए।
