१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहलाई संसदीय समितिमार्फत पत्र पठाएकी छन्।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको पत्र वाचन गरेकी हुन्।
पत्रमा सिद्धिकीले देश सञ्चालनका लागि सामाजिक सञ्जालमा गरिने अभिव्यक्ति र दिइने आश्वासन मात्र पर्याप्त नहुने उल्लेख गरेकी छन्। त्यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमै उचित निर्णय लिनुपर्ने उनको भनाइ छ।
पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा अन्योल, अस्थिरता र अनिश्चितता बढेको महसुस भइरहेको उल्लेख गर्दै उनले सर्वसाधारणमा देखिएको चिन्ता तथा असुरक्षाको भावनालाई बेवास्ता गर्न नहुने बताएकी छन्।
देशलाई थप जोखिमपूर्ण अवस्थातर्फ जानबाट रोक्न सरकारले समयमै आवश्यक कदम चाल्नुपर्ने उनको आग्रह छ। नागरिक सुरक्षा, शान्ति–सुशासन, रोजगारी सिर्जना, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयनलाई सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने उनले पत्रमा उल्लेख गरेकी छन्।
प्रधानमन्त्रीलाई राजनीतिक अभिव्यक्तिभन्दा परिणाममुखी काममा ध्यान दिन आग्रह गर्दै सिद्धिकीले सरकारी निकायलाई जिम्मेवार बनाउन र नागरिकमा विश्वास कायम गर्ने ठोस कदम चाल्नुपर्ने बताएकी छन्।
सरकारका कामप्रति प्रश्न उठाउनु वा सचेत गराउनु विरोध नभई देशप्रतिको दायित्व भएको उनको भनाइ छ। अहिले आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा सम्भावित संकटबाट मुलुकलाई जोगाउन केन्द्रित हुनुपर्ने उनले पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।
