विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश अधिवेशनको मिति तय भइसकेको छैन। तर प्रदेश नेतृत्व हत्याउने आकाङ्क्षासहित नेताहरूले आन्तरिक तयारी र छलफललाई तीव्र बनाएका छन्। प्रदेश सभापतिका लागि वर्तमान पदाधिकारीदेखि जिल्ला सभापति र प्रदेश सांसदसम्मले इच्छा देखाएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन भए पनि प्रदेश तथा जिल्ला तहको अधिवेशन हुन बाँकी छ। अधिवेशनको कार्यतालिका सार्वजनिक नहुँदै प्रदेश नेतृत्वका लागि दाबेदारहरू सक्रिय भएका हुन्।
यसपटकको समीकरणमा विगतमा शेरबहादुर देउवा र डा. शेखर कोइरालानिकट रहेका केही नेतासमेत गगन थापा नेतृत्वको कांग्रेसमा सक्रिय देखिएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाको नेतृत्वमा प्रदेश संगठनको जिम्मेवारी लिन उनीहरूले आन्तरिक कसरत गरिरहेका छन्।
कोशी प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, मोरङ सभापति डिकबहादुर लिम्बू, प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो र धनकुटा सभापति दिनेश राईको नाम चर्चामा छ।
त्यस्तै, प्रदेश महामन्त्री बन्ने आकाङ्क्षा राख्नेमा वर्तमान सहमहामन्त्री विनोद बस्नेत, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य शमशेर राई, मोरङका नेता मदन सङ्ग्रौला र प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायत छन्।
यद्यपि, सबै आकाङ्क्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन्। केहीले सार्वजनिक रूपमै आफ्नो दाबी प्रस्तुत गरेका छन् भने अन्य नेताहरूको नाम पार्टीभित्रको छलफलमा आएको छ।
पुरानै नेतृत्व दोहोरिने कि नयाँ अनुहार आउने ?
वर्तमान सभापति उद्धव थापाले आगामी कार्यकालका विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, उनीनिकट नेताहरूले थापा पुनः नेतृत्वमा दोहोरिन चाहेको बताउने गरेका छन्।
थापा यसअघि कृष्णप्रसाद सिटौला निकट थिए। पछि देउवा समूहमा पुगेका उनी कोशी कांग्रेसको सभापति र प्रदेश संसदीय दलको नेतासमेत निर्वाचित भएका थिए।
सभापतिका अर्का दाबेदार रमेशजंग रायमाझीले आफ्नो उम्मेदवारीको दाबीलाई स्वाभाविक भएको बताएका छन्। देउवा निकट मानिने रायमाझी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतासमेत भइसकेका छन्।
प्रदेश महामन्त्री उमेश थापाले भने सभापतिका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन्। उनी विगतमा डा. शेखर कोइराला समूहबाट प्रदेशको पहिलो अधिवेशनमा उम्मेदवार बनेका थिए।
मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बूले पनि प्रदेश नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन्। दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका उनी संघीय सांसद र मन्त्रीसमेत भइसकेका छन्। अब आफ्नो प्राथमिकता प्रदेश संगठनको नेतृत्वमा रहेर काम गर्ने भएको उनले बताएका छन्।
लिम्बूले करिब छ महिनाअघि नै पत्रकार सम्मेलन गरेर प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। जिल्ला सभापतिमा थप कार्यकालको अवसर नरहेकाले प्रदेश नेतृत्व आफ्नो स्वाभाविक कार्यक्षेत्र भएको उनको भनाइ छ।
‘जिल्ला सभापतिमा अब दोहोरिन नपाउने भएपछि प्रदेशको जिम्मेवारीतर्फ अघि बढ्ने सोच बनाएको हुँ। भूगोलका हिसाबले पनि यो उपयुक्त जिम्मेवारी हो। नेतृत्व पाए संगठन सुदृढीकरणलाई प्राथमिकता दिनेछु,’ उनले बताएका छन्।
सहमहामन्त्री खड्ग फागोले पनि प्रदेश सभापतिका लागि आफू लामो समयदेखि तयारीमा रहेको बताएका छन्। उर्लाबारी नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका फागोले आफ्नो दाबी अहिले मात्रै आएको नभई पहिलेदेखिकै तयारी भएको उल्लेख गरेका छन्। उनी यसअघि शेखर कोइरालानिकट रहे पनि प्रदेशको पहिलो अधिवेशनका बेला देउवा समूहमा पुगेका थिए।
मोरङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने मानबहादुर लिम्बू पनि सभापतिका आकाङ्क्षीमध्ये एक हुन्। प्रदेश सरकारमा मन्त्री भइसकेका उनी सांसदका रूपमा सक्रिय छन्। धनकुटा कांग्रेसका सभापति दिनेश राई पनि जिल्ला नेतृत्वको अनुभवका आधारमा प्रदेश सभापतिको दौडमा रहेको चर्चा छ। उनी देउवानिकट नेताका रूपमा चिनिँदै आएका छन्।
देउवा समूहको तयारी पनि जारी
यसैबीच, १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएको देउवा समूहले पनि प्रदेश अधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारी गरिरहेको छ। उक्त समूहले क्षेत्रीय प्रतिनिधि छनोट गर्नुका साथै केही पालिकामा अधिवेशनसमेत सम्पन्न गरिसकेको छ।
यद्यपि, अधिकांश नेता तथा कार्यकर्ता १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएकाले देउवा समूहको गतिविधि र प्रभावबारे पार्टीभित्र अहिले खासै चर्चा हुन सकेको छैन।
