नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले सुरुङ खन्ने क्रममा विस्फोटक पदार्थको कम्पनका कारण घर भत्किएका तथा चर्किएका घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक प्रक्रिया सुरु गरेको हो।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झीको फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृहसम्म जोड्ने ६ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण गर्दा आसपासका बस्ती प्रभावित भएका थिए।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।
सुरुङ निर्माणका क्रममा पूर्ण तथा आंशिक क्षति पुगेका घरसहित अन्य प्रभावित घरपरिवारको विवरण सङ्कलन, क्षतिको अभिलेखीकरण र मूल्याङ्कनका लागि निवेदन माग गरिएको केसीले बताए।
उनका अनुसार निवेदन सङ्कलनपछि प्राविधिक मूल्याङ्कन गरी सरकारी मापदण्ड र कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति वितरण गरिनेछ।
यसअघि आयोजनाले सर्जसाफ्ट, प्रेसरसाफ्ट र अडिट नम्बर ३ को सुरुङ आसपास कम्पनका कारण बस्न नमिल्ने अवस्थामा पुगेका करिब ३० घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो। ती परिवारलाई न्यूनतम १ लाख ७५ हजारदेखि अधिकतम ३ लाख रुपैयाँसम्म वितरण गरिएको थियो।
३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण
आयोजनाको सुरुङ निर्माणका क्रममा भएको कम्पनले घरमा क्षति पुर्याए पनि क्षतिपूर्ति पाउन ढिलाइ भएको प्रभावितहरूको गुनासो छ।
प्रभावित स्थानीय लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिकाले जिम्मेवारी लिन ढिलाइ गर्दा आफूहरू लामो समयदेखि क्षतिपूर्तिको प्रतीक्षामा रहनुपरेको बताए।
जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, रघुगङ्गा गाउँपालिका र आयोजनाका प्राविधिक सम्मिलित टोलीले स्थलगत निरीक्षण गर्दा सुरुङ प्रभावित क्षेत्रमा रहेका ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो।
रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले भने उक्त प्रतिवेदन तयार पार्न संलग्न निकायका जिम्मेवार व्यक्तिहरूले नै प्रतिवेदनको स्वामित्व लिन नखोज्दा क्षतिपूर्ति प्रक्रिया लम्बिएको बताए।
४० मेगावाटको आयोजना परीक्षण उत्पादनमा
भौतिक संरचना निर्माण सम्पन्न भइसकेको राहुघाट जलविद्युत् आयोजनाले गत असोजको पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको छ।
भारतीय आयात–निर्यात बैंक (एक्जिम बैंक) को ६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो। कम्पनी मोडेल र इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) ढाँचामा आयोजना अघि बढाइएको थियो।
आयोजना निर्माणका क्रममा आर्थिक समस्याका कारण पुरानो ठेकेदार भारतीय कम्पनी आईभीआरसीएलसँगको सम्झौता २०७२ सालमा तोडिएको थियो। उक्त कम्पनीसँग २०६६ सालमा निर्माण सम्झौता भएको थियो।
त्यसपछि नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको आयोजनामा सिभिल निर्माणको जिम्मा पाएको जयप्रकाश एसोसिएट्स (जेपी) ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्ने काम सुरु गरेको थियो।
आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत गरिएको थियो।
