फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको र शुक्रबारदेखि प्रदर्शनमा ल्याउने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा बुधबार साँझ सञ्चार मन्त्रालयबाट निर्माण पक्षलाई फोन आएको थियो । मन्त्रालयका कर्मचारीले तत्कालका लागि बुकिङ रोक्न र फिल्म प्रदर्शनमा रोक लगाइएको सम्बन्धमा पत्र बुझ्न अर्को दिन उपस्थित हुन निर्देशन दिएको निर्माण पक्षको भनाइ छ ।
गृह मन्त्रालयको आदेश भन्दै आएको उक्त सूचनाले फिल्म निर्माण टोलीमा अन्योल सिर्जना गरेको थियो । किनभने सोही दिन दिउँसो केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिसकेको थियो । सेन्सर अनुमति पाइसकेको चलचित्रमाथि सरकारी स्तरबाट प्रदर्शन रोक्ने प्रयास भएको भन्दै फिल्मकर्मीहरूले प्रश्न उठाएका थिए ।
यस विषयमा चलचित्र विकास बोर्डका एक कर्मचारीले नेपालगञ्जमा मात्र फिल्मको प्रदर्शनलाई लिएर समस्या देखिएको र त्यसबारे छलफल गरेर समाधान खोजिने बताएका थिए ।
बिहीबार बिहानसम्म पनि फिल्म प्रदर्शन हुने वा नहुने विषयमा विभिन्न खालका सूचना सार्वजनिक भइरहेका थिए । यही अन्योलबीच फिल्म निर्माण पक्ष र चलचित्र जाँच समितिका अधिकारीहरूबीच छलफल भएको थियो । छलफलपछि शुक्रबारदेखि फिल्म प्रदर्शन गर्न कुनै अवरोध नरहेको स्पष्ट पारिएको हो ।
केन्द्रीय चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितले फिल्मको विषयवस्तुलाई लिएर एउटा समूह असन्तुष्ट बनेपछि विवाद उत्पन्न भएको बताए । तर, अब चलचित्र प्रदर्शनमा कुनै अवरोध नरहेको उनको भनाइ छ ।
पण्डितले ‘पाँच पाण्डव’ प्रकरणले चलचित्र क्षेत्रका लागि तीनवटा महत्त्वपूर्ण सन्देश दिएको बताए ।
उनका अनुसार पहिलो, केन्द्रीय चलचित्र जाँच समितिले गर्ने निर्णय आधिकारिक र अन्तिम हुने विषय यस घटनाले पुनः स्थापित गरेको छ ।
दोस्रो, सरकारले चलचित्र प्रदर्शनमा अवरोध सिर्जना गर्ने नभई आवश्यक वातावरण निर्माणमा सहयोग गर्नुपर्ने मान्यता स्थापित भएको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पनि फिल्म प्रदर्शनका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।
तेस्रो, चलचित्रकर्मीले धार्मिक, साम्प्रदायिक तथा अन्य संवेदनशील विषयवस्तु समेट्दा त्यसको प्रचारप्रसारमा विशेष सावधानी अपनाउनुपर्ने पण्डितको सुझाव छ । यस्ता विषयमा आधारित चलचित्रको प्रचार सामग्री संयमित र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
यता चलचित्रका लेखक सुशील पौडेलले फिल्ममा कुनै पनि धर्म वा सम्प्रदायको अपमान गर्ने, होच्याउने वा तथ्यलाई बङ्ग्याउने काम नगरिएको दाबी गरेका छन् ।
उनका अनुसार महाभारतका पात्रहरूलाई चलचित्रमा प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो । साहित्य, कला र सिर्जनाका विभिन्न विधामा यस्तो प्रयोग हुँदै आएको उनको भनाइ छ ।
पौडेलले चलचित्रको विरोध गर्नुअघि दर्शकलाई फिल्म हेर्न आग्रह गरेका छन् । फिल्म हेरेपछि पनि कुनै विषयमा असहमति भए आलोचना र प्रश्न गर्न सकिने भन्दै उनले विषयवस्तु नबुझी विरोध नगर्न आग्रह गरे ।
