जनकपुरधाम । खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दै गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका १४ उद्योगी तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन र खाद्य नमुना परीक्षणका क्रममा कैफियत भेटिएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो । कार्यालयले सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा खेप्ने व्यवसायीमध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक जना छन् । उनीहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
दाहालका अनुसार खाद्य स्वच्छतामा लापरबाही गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने, स्वास्थ्यलाई हानि पुर्याउने सामग्री उत्पादन तथा बिक्री गर्ने र म्याद नाघेका वस्तु बजारमा पठाउने व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उक्त तीन महिनामा प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थसम्बन्धी ऐन र नियमअनुसार १६४ वटा नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । तीमध्ये पाँच नमुनाको परीक्षण नतिजा प्रतिकूल आएपछि सम्बन्धित व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार कारबाही अघि बढाइएको कार्यालयले जनाएको छ ।
खाद्यवस्तुको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाका ६३२ खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मापदण्डविपरीत काम गरेको पाइएका ५६ खाद्य उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार १८ लाख २६ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
कार्यालयका अनुसार तीन महिनामा २०५ खाद्य तथा दाना उद्योग र १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा निरीक्षण गरिएको थियो । यस अवधिमा उपभोक्ताबाट प्राप्त २७ वटा उजुरीसमेत सम्बोधन गरिएको प्रमुख दाहालले बताए ।
यसैगरी, २६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६८ उद्योगको अनुज्ञापत्र नवीकरण गरिएको र नयाँ उद्योग स्थापना गर्न ८४ वटा सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग स्थापनाका लागि सिफारिसलगायतका प्रक्रियाबाट कार्यालयले १६ लाख २४ हजार १० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबलसम्बन्धी विवरण नभएका, सडेगलेका तथा उपभोग गर्न अनुपयुक्त खाद्यवस्तु पनि बरामद गरिएको थियो । कार्यालयले ती सामग्री सरोकारवालाको उपस्थितिमा नष्ट गरेको जनाएको छ ।
