नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७, कुलेनीस्थित रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।
देवचुली नगरपालिका–१७ निवासी ४१ वर्षीय तामाङसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ३ लाख ३ हजार १६५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको जनाएको छ।
त्यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कको काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ४० वर्षीय सुजित शर्मासहित दुई जना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट १७ हजार ४०० रुपैयाँ नगद र पाँच बुक तास बरामद गरेको छ।
प्रहरीका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।
