इमान सापकोटामाथि निष्पक्ष अनुसन्धान गर्न माग, सबैखाले छानबिनमा सहयोग गर्न कांग्रेस तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद र सार्वजनिक भएको अडिओ प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। भिडियो सन्देशमार्फत उनले अडिओमा आफ्नो नाम जोडेर आएका विषयप्रति अनभिज्ञता जनाउँदै कुनै पनि आर्थिक लेनदेन वा अनुचित गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्।
थापाले पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आफूले एक सुका पनि लेनदेन नगरेको स्पष्ट पारे। साथै, प्रहरी हिरासतमा रहेका इमान सापकोटामाथि निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने माग गर्दै त्यसबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे।
उनले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै पार्टी सबैखाले अनुसन्धानका लागि तयार रहेको बताए। आफूले पनि केही विषयमा प्रत्यक्ष रूपमा धारणा राख्न आवश्यक ठानेर भिडियो सन्देश जारी गरेको उनको भनाइ छ।
थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको माग गर्दै तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहका रूपमा व्याख्या गरे। भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीमा परिवर्तनको प्रयास गर्दा अवरोध सिर्जना भएकाले विशेष महाधिवेशनको परिस्थिति बनेको उनले बताए।
अडिओमा आफ्नो नाम जोडिएको विषयमा अनावश्यक रूपमा स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले अनुसन्धानको विषयलाई अनुसन्धान गर्ने निकायमै उठाउनुपर्नेमा जोड दिए। सापकोटासँग सम्बन्धित अडिओ कहाँ, कसले, कहिले र कुन परिस्थितिमा रेकर्ड गरेको हो भन्नेबारे आफूलाई जानकारी नभएको पनि उनले बताए।
उनले अडिओ प्रकरणमा जोडिएका सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने र सञ्चारमाध्यमले पनि अनुसन्धानको निष्पक्षतामाथि निगरानी गर्नुपर्ने धारणा राखे।
केपी शर्मा ओलीसँगको भेटलाई अडिओ प्रकरणपछि डराएर गरिएको भेटका रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि जनाउँदै थापाले त्यसलाई नियमित राजनीतिक संवादको हिस्सा भएको बताए। मधेश प्रदेश सरकारको विश्वासको मतलगायत राजनीतिक विषयमा छलफल गर्न आफूले पुष्पकमल दाहाल र उपेन्द्र यादवसँग पनि भेट गरेको उनको भनाइ छ।
थापाले वर्तमान सरकार पाँच वर्षका लागि बनेको जनादेशलाई कांग्रेसले सम्मान गर्ने स्पष्ट पारे। तर, बाढीपहिरोबाट प्रभावित नागरिकको पुनर्स्थापना, सुकुम्बासी समस्या, रोजगारी सिर्जना, लगानीको वातावरण र अर्थतन्त्र सुधारमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।
सरकारले सही काम गर्दा कांग्रेसले सहयोग गर्ने तर लोकतान्त्रिक अधिकार र संस्थामाथि प्रहार भएमा चुप लागेर नबस्ने उनले बताए। सरकारका गलत निर्णयमाथि प्रश्न उठाउनु र आवश्यक परे प्रतिवाद गर्नु आफ्नो राजनीतिक जिम्मेवारी भएको उनको भनाइ छ।
आफूमाथि विभिन्न समयमा प्रायोजित आरोप र प्रचारबाजी हुने गरेको दाबी गर्दै थापाले आफ्नो नैतिकता र इमानदारितामा कुनै सम्झौता नगरेको बताए। ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन,’ उनले भने।
अन्त्यमा थापाले राजनीतिक विवाद र आरोप–प्रत्यारोपका बीच नागरिकले प्रश्न गर्ने अधिकार गुमाउन नहुनेमा जोड दिए। प्रश्न गर्ने परिपाटी कमजोर भए लोकतन्त्रसँगै देशको प्रगति पनि प्रभावित हुने उनको भनाइ थियो।