काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता हुन सकेन। सर्वोच्च अदालत प्रशासनले निवेदनमाथि अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेको हो।
बुधबार सरकारले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको मागसहित रिट लिएर सर्वोच्च पुगेका थिए।
कार्कीका तर्फबाट बहस गर्ने अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार सर्वोच्च प्रशासनले निवेदन अध्ययनका लागि समय लाग्ने जनाउँदै बुधबार दर्ता प्रक्रिया अघि बढाएन।
मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
रिट शुक्रबार दर्ता भए पनि प्रारम्भिक सुनुवाइका लागि भने तिहार बिदा सकिएपछि मात्रै प्रक्रिया अघि बढ्ने देखिएको छ।
