काठमाडौं । उद्योगपति विनोद चौधरीको नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुने योग्यता सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ।
कात्तिक १९ गतेका लागि तोकिएको पेसी अब मंसिर १० गते सुनुवाइ हुने गरी सारिएको छ। यसअघि पनि कात्तिक १३ गतेका लागि निर्धारित पेसी मंसिर १९ गतेलाई तोकिएको थियो। पछिल्लो पटक पेसी सरेसँगै उक्त मुद्दाको सुनुवाइ १४औँ पटक प्रभावित भएको छ।
चौधरी २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनको प्रतिस्पर्धामा रहेका डा. शुभाषचन्द्र यादवले पार्टी विधानअनुसार केन्द्रीय सदस्यको उम्मेदवार बन्न कम्तीमा १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था चौधरीले पूरा नगरेको दाबी गरेका थिए।
सोही आधारमा यादवले चौधरीको केन्द्रीय सदस्य पद बदर गर्न माग गर्दै २०७८ फागुन ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लामो समय बितिसक्दा पनि उक्त विवादको अन्तिम टुंगो लाग्न सकेको छैन।
यसैबीच चौधरी कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशी समूहअन्तर्गत उपसभापति निर्वाचित भइसकेका छन्। उक्त महाधिवेशन असोज १८ देखि २३ गतेसम्म सम्पन्न भएको थियो।
१४औँ महाधिवेशनमा उम्मेदवारी दिँदा नै यादवले चौधरीको क्रियाशील सदस्यताको अवधि नपुगेको भन्दै तत्कालीन निर्वाचन समितिसमक्ष आपत्ति जनाएका थिए। तर, समितिबाट स्पष्ट निर्णय नआएपछि उनले निर्वाचन सम्पन्न भएपछि पुनः उजुरी दिएका थिए।
त्यसक्रममा निर्वाचन समितिले क्रियाशील सदस्यताको योग्यता निर्धारण गर्ने अधिकार पार्टी केन्द्रीय कार्यालयसँग रहेको जवाफ दिएको थियो। पार्टी कार्यालयले भने चौधरीको योग्यता पुगेको दाबी गरेपछि यादवले निर्वाचन आयोगमा समेत उजुरी पुर्याएका थिए।
आयोगले उजुरी दर्ता गरे पनि यादवलाई छलफलका लागि बोलाएन। बरु कांग्रेस केन्द्रीय कार्यालयसँग यस विषयमा जवाफ मागेको थियो। जवाफमा पार्टीले निर्वाचन समितिलाई आन्तरिक निर्वाचनको अन्तिम निकायका रूपमा व्याख्या गर्दै त्यसको निर्णय नै मान्य हुने जनाएको थियो।
पार्टीको यही जवाफका आधारमा निर्वाचन आयोगले यादवलाई लिखित प्रतिक्रिया पठाएको थियो। त्यसपछि यादवले निर्वाचन आयोग र नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
उक्त मुद्दाको अन्तिम फैसला नहुँदा चौधरीको तत्कालीन केन्द्रीय सदस्य पदसम्बन्धी योग्यता विवाद अझै न्यायिक प्रक्रियामै रहेको छ।
