पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ का ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजविराज नगरपालिका–३ का ३३ वर्षीय कौशलकुमार राय र धनुषाको नगराइन नगरपालिका–५ का गोपाल साह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट कुल १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, दुई लाख ५० हजार रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरेको छ।
ब्युरोका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार सुरुमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट भण्डारीलाई पक्राउ गरिएको थियो। उनको डेरामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई लाख ५० हजार रुपैयाँ फेला परेको थियो।
भण्डारीसँगको बयानका आधारमा प्रहरीले भक्तपुरबाट गोपाल साह र कौशलकुमार रायलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट थप ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भण्डारी यसअघि २०७६ भदौ १९ गते डाँका चोरी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा उनले सात वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान गरेका थिए। उनी २०८३ भदौ २४ गते कारागारबाट छुटेका थिए।
अनुसन्धानका क्रममा कारागारबाट छुटेपछि भण्डारी लागुऔषध कारोबारमा संलग्न भएको खुलेको प्रहरीको भनाइ छ। उनलाई लागुऔषध उपलब्ध गराउने व्यक्ति नख्खु कारागारमा कैद भुक्तानका क्रममा चिनजान भएका एक भारतीय नागरिक रहेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार ती भारतीय नागरिक २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। उनले सिरहा, धनुषा र विराटनगरका व्यक्तिमार्फत काठमाडौँमा लागुऔषध पठाउने र भण्डारीले राजधानीमा त्यसको बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
