असनका साँघुरा गल्लीदेखि ठूला व्यापारिक भवनसम्म रंगीचंगी एलईडी बत्ती, सजावटका सामग्री र तिहारमा प्रयोग हुने विभिन्न वस्तुको आकर्षण देखिएको छ। पसलहरूमा पहेँलो, हरियो, नीलो र बैजनी रंगका बत्तीका लरी झुन्ड्याइएका छन्। ग्राहकहरू आफ्नो घर तथा पसल सजाउन उपयुक्त बत्ती छनोट गर्न व्यस्त देखिन्छन्।
धनतेरसका अवसरमा धातुका भाँडाकुँडा किन्ने परम्पराले पनि बजारमा विशेष चहलपहल थपेको छ। तामाका ताउला, गाग्री, थाललगायतका सामग्रीले पसलहरू सजिएका छन्। परम्परागत सामग्रीसँगै आधुनिक विद्युतीय सजावटका सामानको बिक्रीले बजारलाई थप आकर्षक बनाएको छ।
तिहारका लागि आवश्यक सामग्री खरिद गर्न बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बजार पुगेका छन्। ग्राहकले आफूलाई मनपर्ने बत्ती परीक्षण गरेर खरिद गरिरहेका छन्। व्यापारीहरूलाई पनि ग्राहकको मागअनुसार सामान देखाउन र बिक्री गर्न भ्याइनभ्याइ छ।
विशाल बजार क्षेत्रमा सयपत्री फूलका माला र रंगीचंगी बत्तीले छुट्टै आकर्षण थपेका छन्। भवनका विभिन्न तल्लामा झुन्ड्याइएका सुनौला प्रकाशले बजार क्षेत्रलाई रातको समयमा समेत उज्यालो र मनमोहक बनाएको छ। किनमेलका लागि आएका सर्वसाधारण केही समय त्यही सजावट नियाल्दै रमाइरहेका देखिन्छन्।
न्युरोड क्षेत्र पनि तिहारको उल्लासले भरिएको छ। ठूला भवनहरूमा बत्तीका लरी जडान गरिएका छन् भने सडक र व्यापारिक क्षेत्र मानिसहरूको चहलपहलले भरिभराउ छन्। परिवार तथा साथीभाइसँग बजार घुम्न निस्किएका युवायुवती र सर्वसाधारणले उत्सवको माहोललाई थप जीवन्त बनाएका छन्। बत्तीको प्रकाशमा नेपालको राष्ट्रिय झण्डासमेत आकर्षक देखिएको छ।
तिहारको तयारीमा सर्वसाधारणसँगै साना व्यवसायीहरूको व्यस्तता पनि बढेको छ। ग्राहकलाई आवश्यक सामग्री उपलब्ध गराउन व्यापारीहरू दिनभर पसलमा खटिएका छन्। आफ्ना घरपरिवारका लागि सामान खरिद गर्न आउने ग्राहकको चापले बजारमा व्यापारिक गतिविधि बढाएको छ।
यता, आवासीय क्षेत्रका घरहरूमा समेत लक्ष्मीपूजाको तयारी तीव्र बनेको छ। घरका झ्याल, कौसी र छतमा बत्ती जडान गर्ने क्रम जारी छ। कतिपय युवाहरू जोखिमपूर्ण स्थानमा पुगेर समेत घर सजावटका लागि बत्ती मिलाइरहेका देखिन्छन्।
माटोका दियो र पालादेखि आधुनिक एलईडी बत्तीसम्मको प्रयोगले तिहार मनाउने शैलीमा परिवर्तन ल्याए पनि यस पर्वको सांस्कृतिक र पारिवारिक महत्त्व भने यथावत् छ। प्रेम, भाइचारा, आपसी सद्भाव र सुखसमृद्धिको कामनासहित मनाइने दीपावलीले काठमाडौंका सडक, बजार र बस्तीलाई उत्सवमय बनाएको छ।
तस्बिरहरू: अनुप प्रधान / न्युज एजेन्सी नेपाल
