काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीमा देखिएका आर्थिक, सामाजिक र राजनीतिक समस्याको समाधान समाजवादबाट सम्भव हुन सक्ने बताएका छन् ।
साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको शतवार्षिकीका अवसरमा नोभेम्बर ७ मा निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले पुँजीवादी व्यवस्थाले बढाएको आर्थिक असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको धारणा राखेका हुन् ।
विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता उल्लेखनीय रूपमा बढे पनि त्यसको प्रतिफल सीमित धनाढ्य वर्गमा मात्रै केन्द्रित भएको उनले बताए । करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको अनिश्चितता र न्यून पारिश्रमिकको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारमा किनबेच हुने वस्तु बन्नु पुँजीवादी व्यवस्थाका प्रमुख कमजोरी भएको उनको भनाइ थियो ।
ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग र प्रभुत्वभन्दा अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमसत्ता र संवादलाई महत्त्व दिनुपर्नेमा जोड दिए । शान्ति शक्तिशाली राष्ट्रको मात्र अधिकार नभई सबै देशको समान र मौलिक अधिकार भएको उनले उल्लेख गरे ।
समाजवादलाई कुनै निश्चित सिद्धान्त वा विगतका संघर्षको सम्झनामा मात्र सीमित गर्न नहुने बताउँदै उनले यसलाई शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्पका रूपमा व्याख्या गरे । बदलिँदो विश्व परिस्थितिअनुसार मार्क्सवादी विचारलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।
कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको विकास मानव हितमा उपयोग हुनुपर्नेमा जोड दिँदै ज्ञवालीले प्रविधिमाथि कर्पोरेट क्षेत्रको नियन्त्रण बढ्दा रोजगारी गुम्ने र सम्पत्ति सीमित व्यक्तिमा केन्द्रित हुने जोखिम औँल्याए ।
नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै उनले नेकपा एमालेले मार्क्सवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई नेपालको विशिष्ट परिस्थितिअनुसार अपनाएको बताए । राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई समेट्ने जबजको अवधारणाले लोकतन्त्र र सामाजिक रूपान्तरणलाई अघि बढाउने आधार प्रदान गरेको उनको भनाइ थियो ।
लोकतान्त्रिक संस्थाहरूको विघटनलाई क्रान्तिका रूपमा बुझ्न नसकिने उल्लेख गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनका लागि हिंसाभन्दा शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने बताए । युवा पुस्ताका अपेक्षा सम्बोधन गर्न र लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन संवैधानिक संस्थाहरूको सुदृढीकरण आवश्यक रहेको उनले औँल्याए ।
ज्ञवालीले विश्वभरका वामपन्थी शक्तिबीच शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताए । प्रभुत्व र द्वन्द्वको सट्टा सार्वभौम समानता तथा सहकार्यमा आधारित बहुध्रुवीय विश्व व्यवस्था निर्माणका लागि साझा प्रयास गर्नुपर्ने उनको धारणा थियो ।
