काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ।
बिहान ८ बजेर ५५ मिनेटतिर सुरु भएको आगो दमकलको सहायताले नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार आगो निभाउने क्रममा लाउन्जका केही संरचना भत्काउनुपरेको थियो।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबाट भएको भौतिक क्षतिको विवरण भने संकलन तथा मूल्यांकन भइरहेको छ।
आगलागीको यकिन कारण खुल्न सकेको छैन। प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
