काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकका स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नागरिक स्वतन्त्रता सीमित गर्ने प्रवृत्ति बढेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। यस्तो प्रवृत्तिले निरंकुश शासनतर्फ जाने जोखिम बढाएको उनको टिप्पणी थियो।
पौडेलले प्रधानमन्त्रीका सल्लाहकारमाथि आफूअनुकूलका प्रमाण सार्वजनिक गर्ने र आफूविरुद्धका प्रमाण हटाउने गरेको आरोपसमेत लगाए।
वर्तमान राजनीतिक व्यवस्था स्थापनामा योगदान नगरेका व्यक्तिहरूलाई समेत जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै उनले प्राप्त जनमतको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा उनले नेपाली कांग्रेसभित्र बृहत् एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको पनि बताए। विधिको शासनमा एउटै राजनीतिक दलका दुई सभापति, दुई झन्डा र दुई चुनाव चिह्न हुन नसक्ने उनको भनाइ थियो।
कांग्रेसभित्रको अर्को पक्षले गरिरहेका गतिविधि विधि र प्रक्रियाविपरीत रहेको आरोप लगाउँदै पौडेलले पार्टीको विवाद समाधान गर्न विधान र स्थापित प्रक्रियालाई आधार बनाउनुपर्ने धारणा राखे।
