चितवन । दुग्ध विकास संस्थान (डीडीसी) ले चितवनको भरतपुरस्थित विशालचोकमा आफ्नो उत्पादन बिक्री गर्ने नयाँ कक्ष सञ्चालनमा ल्याएको छ।
संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष कमलबहादुर मल्लले संयुक्त रूपमा बिक्री कक्षको उद्घाटन गरेका हुन्।
उक्त बिक्री कक्षमा डीडीसीले उत्पादन गरेका दूध, दही, घिउ, पनिर, चिजलगायत २० प्रकारका दुग्धजन्य सामग्री उपलब्ध हुने सञ्चालक प्रदीप पण्डितले जानकारी दिए। उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्धजन्य सामग्री उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालन गरिएको उनको भनाइ छ।
सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीले ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी प्रशोधन तथा विभिन्न दुग्धजन्य सामग्री उत्पादन गर्दै सहरी बजारमा आपूर्ति गर्दै आएको छ।
संस्थानका महाप्रबन्धक पाण्डेका अनुसार आगामी तीन महिनाभित्र चितवनका विभिन्न स्थानमा थप १० वटा बिक्री कक्ष सञ्चालनमा ल्याउने तयारी छ। भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडी क्षेत्रमा बिक्री कक्ष विस्तार गरिनेछ।
डीडीसीका उत्पादन मात्रै बिक्री गर्ने यस्ता कक्ष देशभर हाल ३५ वटा सञ्चालनमा छन्। संस्थानले बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा दुग्ध प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ। निकट भविष्यमा पोखरामा पनि उद्योग स्थापना गर्ने तयारी गरिएको छ।
हाल डीडीसीले दैनिक करिब ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधनपछि बजारमा पठाउँदै आएको छ।
