सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटीले बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताए। उनले समाजमा केवल कुरा गर्ने नभई व्यवहारमै सकारात्मक परिवर्तन ल्याउने व्यक्ति बन्नुपर्नेमा जोड दिँदै ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरे।
सभ्य, समुन्नत र बस्नयोग्य समाज निर्माणका लागि नागरिकको नैतिक चेतना, मानवीय भावना र सांस्कृतिक सोच उच्च हुनुपर्ने ओलीको भनाइ थियो। समाजको नैतिक तथा सांस्कृतिक अवस्था सुधार गर्न सके राजनीति र अर्थतन्त्रलाई समेत सही दिशामा अघि बढाउन सकिने उनले बताए।
ओलीले समाजमा आपसी घृणा, अत्यधिक लोभ, छलकपट र स्वार्थको भावना बढ्न नहुने उल्लेख गरे। उनका अनुसार अनियन्त्रित लोभले मानिसलाई नैतिक रूपमा पतन गराउँदै अमानवीय व्यवहारतर्फ धकेल्न सक्छ।
खराब आचरण भएका मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुजगत्प्रति अन्याय हुने टिप्पणी गर्दै उनले पशुहरूले मानिसले जस्तो षड्यन्त्र, छलकपट र अन्याय नगर्ने बताए। यस्ता नकारात्मक प्रवृत्ति मानिसले त्याग्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा ओलीले प्रेम, करुणा, इमानदारी र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिए। संस्कृतिले सिकाएका असल मूल्य र मान्यतालाई व्यवहारमा उतार्दै सकारात्मक सोच तथा आचरण अपनाउनुपर्ने उनले बताए।
पुराना राम्रा परम्पराको संरक्षण गर्दै समयअनुसार आवश्यक सुधार गर्नुपर्ने उल्लेख गर्दै ओलीले नयाँ पुस्तालाई अझ सभ्य, समृद्ध र सुन्दर समाज हस्तान्तरण गर्न सबै नागरिक जिम्मेवार बन्नुपर्ने धारणा राखे।
उनले समाजलाई विध्वंस होइन, निर्माणको बाटोमा अघि बढाउन नागरिकको सोच, व्यवहार र आचरणमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए।
