सोमबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै बिचौलियाको अभिव्यक्तिकै आधारमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्ष निकाल्नु उचित नहुने बताए।
कांग्रेस नेता गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ खर्च गरेको भन्ने आरोपप्रति प्रश्न उठाउँदै उनले पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूको राजनीतिक तथा आर्थिक अवस्थाबीच तुलना गर्न आग्रह गरे।
उनले कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई कानुनी रूपमा प्रमाण मान्न नसकिने धारणा राखे। सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र प्रचारको पछि नलाग्न पनि उनले आग्रह गरे।
शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधान, पद्धति र नेपालको संविधानअनुसार अघि बढेको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन गरिएको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक निर्णयबारे अनावश्यक भ्रम सिर्जना नगर्न आग्रह गरे।
उनका अनुसार बदलिँदो राष्ट्रिय परिस्थिति र आवश्यकतालाई आत्मसात् गर्दै कांग्रेसलाई नयाँ सोच, ऊर्जा र योजनासहित अघि बढाउनुपर्ने आवश्यकता छ। पार्टीलाई व्यवस्थित र प्रभावकारी बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि काम गर्नुपर्ने उनले बताए।
शर्माले काभ्रे कांग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा विशेष ध्यान दिनसमेत आग्रह गरे। पार्टीको आधार बलियो बनाउन नेता तथा कार्यकर्ता गाउँ, टोल र नागरिकको घरदैलोसम्म पुग्नुपर्ने उनको भनाइ थियो।
उनले अनुभवी नेतृत्व र युवा पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कार्यकर्तामा आशा, विश्वास र आत्मविश्वास जगाउन सके मात्रै संगठनप्रति जनताको आकर्षण बढाउन सकिने बताए।
पार्टीलाई अध्ययन, मेहनत, एकता र योजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै शर्माले कांग्रेसको संगठन सुदृढीकरणसँगै देशको समृद्धिका लागि सामूहिक प्रयास गर्नुपर्ने धारणा राखे।
