आइतबार राति ठूलो मात्रामा पटका पड्काइएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा धुवाँ र बाक्लो हुस्सु फैलिएको थियो । वायु प्रदूषण बढेसँगै सडकमा दृश्यता (भिजिबिलिटी) समेत घटेको थियो ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४१८ पुगेको थियो । त्यस्तै, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र साउथ एक्सटेन्सन क्षेत्रमा ३६० एक्यूआई मापन गरिएको थियो ।
दिल्लीसँगै उत्तर प्रदेशका विभिन्न सहरमा पनि वायु प्रदूषणको अवस्था गम्भीर बनेको छ । नोएडा, गाजियाबाद, कानपुर र वाराणसीसहित १० सहरको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको थियो । सोमबार बिहान ७ बजेसम्म प्रयागराज, गोरखपुर र लखनउको एक्यूआई ५०० भन्दा माथि पुगेको थियो ।
उत्तर प्रदेशका विभिन्न क्षेत्रमा चिसो र हुस्सुको प्रभावसमेत बढ्न थालेको छ । १५ भन्दा बढी सहरमा बाक्लो हुस्सु लागेको थियो भने रातिको तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
मध्यप्रदेशमा पनि तापक्रम घट्ने क्रम जारी छ । आइतबार राति भोपाल र इन्दौरसहित १४ सहरको तापक्रम १४ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको थियो ।
यता राजस्थानका केही सहरमा भने दिनको तापक्रम सामान्यभन्दा बढी देखिएको छ । बाडमेरमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । पछिल्लो १० वर्षको अवधिमा त्यहाँ तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको यो दोस्रो घटना भएको जनाइएको छ ।
दीपावलीको आतसबाजीको असर मध्यप्रदेशमा पनि देखिएको छ । इन्दौरमा नोभेम्बर ८ को राति ११ बजेर ११ मिनेटसम्म एक्यूआई ३२० पुगेको थियो । उक्त स्तरलाई अत्यन्तै खराब वायु गुणस्तरको श्रेणीमा राखिएको छ ।
कसरी मापन गरिन्छ वायुको गुणस्तर ?
वातावरणमा रहेको हावा कति स्वच्छ वा प्रदूषित छ र त्यसले मानव स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्ने जानकारी दिन वायु गुणस्तर सूचकांक (एक्यूआई) प्रयोग गरिन्छ ।
विभिन्न स्थानमा स्थापना गरिएका मापन केन्द्रमा विशेष उपकरणको सहायताले हावामा रहेका प्रदूषकको मात्रा परीक्षण गरिन्छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले मुख्यतः आठ प्रकारका प्रदूषकको अवस्थालाई आधार बनाएर एक्यूआई निर्धारण गर्छ ।
एक्यूआईको मान बढ्दै जाँदा हावामा प्रदूषणको मात्रा र त्यसबाट स्वास्थ्यमा पर्ने जोखिम पनि बढ्दै जान्छ ।
प्रदूषित हावाले स्वास्थ्यमा पार्ने असर
धुलो, धुवाँ, विषाक्त ग्यास तथा सूक्ष्म कण प्रदूषित हावामार्फत श्वासप्रश्वास प्रणाली हुँदै शरीरभित्र प्रवेश गर्छन् । यसको असर तत्काल देखिनुका साथै लामो समयसम्म प्रदूषणको सम्पर्कमा रहँदा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ ।
वायु प्रदूषणका कारण हुन सक्ने प्रमुख स्वास्थ्य जोखिमहरू यस्ता छन् :
-
फोक्सोको कार्यक्षमतामा कमी आउन सक्छ ।
-
दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्छ ।
-
मुटु तथा रक्तनलीसम्बन्धी समस्या निम्तिन सक्छ ।
-
फोक्सोको क्यान्सरको जोखिम बढ्न सक्छ ।
-
मस्तिष्क तथा स्नायु प्रणालीमा नकारात्मक असर पर्न सक्छ ।
गर्भवती महिला र बालबालिका बढी जोखिममा
वायु प्रदूषणको असर सबै उमेर समूहका मानिसमा पर्ने भए पनि गर्भवती महिला, गर्भस्थ शिशु, बालबालिका, वृद्धवृद्धा तथा दम र मुटुसम्बन्धी समस्या भएका व्यक्ति बढी जोखिममा हुन्छन् ।
गर्भावस्थामा प्रदूषित हावाको सम्पर्कले आमाको श्वासप्रश्वास तथा मुटुको स्वास्थ्यमा असर पार्न सक्छ । विभिन्न अनुसन्धानले वायु प्रदूषणको सम्पर्क र कम तौल भएका शिशु जन्मिने तथा समय नपुग्दै प्रसूति हुने जोखिमबीच सम्बन्ध देखाएका छन् ।
त्यस्तै, बालबालिकाको फोक्सो पूर्ण रूपमा विकास भइसकेको हुँदैन । यस्तो अवस्थामा प्रदूषित हावाको सम्पर्कले उनीहरूको फोक्सोको विकास तथा श्वासप्रश्वास प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्छ ।
