काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भइरहेको र उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत स्पष्ट उल्लेख नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले सरकारी पक्षबाटै प्लास्टिकका झोला प्रयोग हुनु उचित नभएको बताए।
सरकारले नागरिकलाई प्लास्टिक झोलाको प्रयोग नगर्न र प्लास्टिकमुक्त समाज निर्माणमा सहयोग गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी स्टलहरूमा समेत त्यस्ता झोला प्रयोग भएको पाइनु सुधार गर्नुपर्ने विषय भएको उनको भनाइ थियो।
त्यस्तै, निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने मूल्य स्पष्ट देखिने गरी नराखेको उनले बताए। उनले सरकारी स्टलमा प्लास्टिकका झोला प्रयोग नगर्न र उत्पादित सामग्रीमा एमआरपी अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था मिलाउन आग्रह गरे।
खाद्य संस्थानले आयोजना गरेको तिहार विशेष रैथाने मेलामा करिब २६ वटा स्टल राखिएका छन्। तिहारका लागि आवश्यक सामग्री खरिद गर्न मेलामा उपभोक्ताको भीड लागेको छ। सभामुख अर्यालले पनि सोमबार मेलाको अवलोकन गर्नुका साथै आवश्यक सामग्री खरिद गरेका थिए।
